नेपाल र नेपाली जातिको जीवन इतिहास वा भनौँ सभ्यताको पत्र धेरै पन्नामा खात लागेका छन् । जहाँ गौरवको गाथाले भरिएका पृष्ठका पत्र मात्रै खोज्दा पनि अनेकन दस्तावेजको चाङ बनेको भेटिन्छ । आफ्नो छातीभरि वैदिक सभ्यता, सनातन संस्कृति, आर्य/मंगोल बीचको सहिष्णु सम्बन्धजस्ता सामाजिक मूल्य र मान्यताको निलम पहिरिएर बसेको देश नेपालको राजनीतिक संस्कारले भने कम्ती प्रहार र चोटबाट घायल काय बोकेर अगाडि बढ्नुपरेको छैन ।
गोपाल, महिष्पाल, लिच्छवि, किराँत, मल्ल अनि राणा हुँदै प्रजातान्त्रिक बिहानी उदाएको छोटो कालखण्डमा नै अर्को कालरात्री पञ्चायतले मुख ब्वाएपछिको त्रासदी व्यहोरेर अगाडि बढिरहेको देशले छदम रूप र साहसी मनोबलका साथमा संघर्षको आँधी सिर्जना गर्यो जुन मैदानमा जीवन आहुति दिन लाखौँ नेपाली योद्धा तयार भएका थिए विक्रम संवत् २०४६ सम्मै पनि । नेपाली समाजको मूल्य र मान्यतामा मानवीयता र सामाजिक-साँस्कृतिक स्वतन्त्रताको अभियान अन्तरगत राष्ट्रियता, प्रजातन्त्र र समाजवादको उज्यालो भविष्यरूपी महान् सपना बोकेर ब्युँझिएको देशले जीवन्त पार्टी जन्मायो नेपाली काँग्रेस जो पथ्थरको थाप्लो फुटाएर उम्रेको पिपल वृक्षको आदर्श र छहारीको आँगनमा चारतारे झण्डाको साथ । एकमात्र उद्देश्य थियो देश र जनताको मुक्ति अनि गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा किसानको मौलिक धरातलमा दिने ।
आफ्नै पुर्खाको रगतपसिनाको उपज मातृभूमीमा दासी एवम् हुकुमी रैतान ? भन्ने प्रश्नले उम्लिएको रातो र तातो रगत जहानियाँ शासनको विपक्षमा उभिँदा देशनिकालादेखि शिर छेदन हुँदै रुखको हाँगामा झुण्डिएर शासकको शिकार बन्न तयार भएका नेपाली योद्धा युवाको निरन्तर संघर्षको मूल मियो बन्यो नेपाली काँग्रेस २००३ देखि आज पर्यन्त । कैयन योद्धाले जीवन गुमाए तर आफ्नो प्रजातन्त्रप्रतिको आस्था गुमाएनन् जसको एउटामात्र कारण थियो त्यो असल नेतृत्वले देखेको उज्ज्वल भविष्यरूपी महान सपना साकार गर्नु र त्यसैमा आफू र आफ्नो देशको भविष्य फूलेफलेको देख्नु । परिणाम कसैले कासीवास त हजारौँले स्वर्गवास व्यहोर्न बाध्य भए तर थाकेनन् कहिल्यै नथाक्ने गरी ।
हो, त्यो पुस्ता जसले पत्थरिलो अक्करको चल्ली फुटाएर नेपाल र नेपालीको खातिर काँग्रेसको जन्म दिए मात्रै होइन पौरख, पसिना र रगत अर्पण गरे देशलाई । आज त्यो पुस्ता जीवित कमै होलान् तर तिनै पुस्ताको कमाई खाने उत्तराधिकारी अनगिन्ती छन् । विरासतमा देशले त काँग्रेसको जन्म राजनीतिक सिंहका रूपमा भएको हो भन्ने विश्वासको साथ होला पटकपटक सिंहासनमा राज गरायो र आज पनि विराजमान छ । अब सम्झौँ त्यो पुस्ताको सपना जसका लागि आफूलाई आहुति दिए, साहसी ती योद्धाले कासीवास वा स्वर्गवास छाती खोलेर स्वीकार गरे, के तिनीहरूको आदर्श सिंहासनमा छ ? के त्यही आदर्श विराजमान हो आज ? कि त्यो पुस्ताको सपना बेच्ने व्यापारीहरूको ? हो यही प्रश्न छ देश र जनताको आदर्शमा फहराउँदा फहराउँदै स्वार्थमा विलिन चारतारे झण्डा र पत्थरको थाप्लो फुटाएर उम्रेको त्यो बोधी वृक्षलाई ।
सबै प्रश्न र सबैका प्रश्नको एउटै उत्तर थियोे वीपीको आदर्श राजनीतिको महान् सपना देश र जनताको समान उन्नति, प्रजातान्त्रिक समाजवादको नेपाली बगैँचामा राष्ट्रियताको सुवास ! साथमा नेपाली काँग्रेस अब के चाहियो ? जनता नतमस्तक बने, आशा र भरोसामा धैर्य गरे तर सकियो त्यो पुस्ता जसले जे सक्यो त्यो दियो दिन्छु र दिनेछ म नभएपनि काँग्रेसले भन्ने पुस्ता । उत्तराधिकारी पुस्ता राज त गर्छ बसेर तर राजनीति होइन लाजनीतिमा फसेर अनि जप्छ त्यही पूर्वजको नाम । दिँदैन जो आदर्श पुस्ताले देऊ भनेका थिए ।
के सकियो त अब काँग्रेस ? के अस्ताएकै हो त काँग्रेसी आदर्श जन्मदाताको सपनाको सूर्य ? कि बादलले छेकिएको मात्रै ? सत्याग्रही कार्यकर्ता र शुभेच्छुक जनताले वहसको चौतारी मागेका छन् तर सुन्ने को ? घुम्ने मेचमा तिमी अन्धा छौ देख्छौ के ? सुन्छौ कसलाई ? तर नहार ! सगररूपी काँग्रेसमा स्वार्थको दाउ भजाएर कालो धनको कौमार्य सजाउने र श्वेत सम्पन्नता देखाउने चेष्टामा उदाएको कथित ठूला गुटका धनवीरे काँग्रेसको बाढीमा नबग, असल काँग्रेस ! यो तुच्छ भीड काँग्रेसको ठूलो शहरमा हाट लगाएर च्याँखे थापेर नाफा कमाउने दाउमा छ, कुनै मूल्य र भाउमा होइन । यस गुटले काँग्रेस बेच्दै छ, तिमी बिक्री नहाेउ आदर्श काँग्रेस । तिम्रो त्यो पत्थरको थाप्लो फुटाउने साहसी बोधी वृक्षको छहारीमा कुलङ्गार बसेको छ जसलाई निर्वासनमा खेद्ने निर्वाचन तिमीले सदुपयोग गर्ने दायित्व तिम्रो हो । तिमीले नहार आदर्श काँग्रेस किनकि तिम्रो पिपलमा पलाएको गैरआदर्शको व्यापारी झुन्ड ऐँजेरु हो जो बोधी वृक्षका लागि सदाकाल घातक छ ।
प्रतिक्रिया