मूर्तिमा देखाए जस्तै सुन्दर मानवीय नारी शरीर भएकी कुनै सरस्वती देवी कहीं कुनै लाेकमा बसेकि छन् भन्ने हाम्रा बा-आमाको कल्पना त अब हाम्रा सोचबाट टाढा भइसकेको छ, तर सरस्वतीमा बुनिएको ज्ञानको जगत् भने अवश्य पनि सदा सर्वदा विद्यमान छ । अनि आमाको गर्भभित्रै अवस्थित भ्रूण वा भर्खर जन्मेको बच्चामा समेत स्वाभाविक रूपमा जान्ने र सिक्ने क्षमता विद्यमान छ, अर्थात् हामी सबैभित्र प्राकृत रुपमा नै कुनै विद्यार्थी उपस्थित छ, भन्ने कुरा हामीलाई विज्ञानले नै भनिदिएको छ । खालि हामीभित्र विद्यमान त्यो चेतन (जसलाई पुरुष वा चैतन्य पनि भनिन्छ) शरीरको समग्रताको एक प्रारूप हो, वा शरीरको एक आम हो, वा शरीरभित्र विद्यमान स्वतन्त्र अशरीर तत्त्व हो भन्ने बारेमा मत मतान्तर हुन सक्छ, तर यो लेख त्यो बहसका लागि लेखिएको छैन । प्राचीन कालमा पनि त्यो बहस र विवादको विषय थियाे र आज पनि त्यो विवाद विद्यमान नै छ । हामी सबै सहमत हुनसक्ने ठोस र न्यूनतम कुरा के हो भने हामी सबैभित्र कुनै सिक्ने क्षमता विद्यमान छ । त्यो सिक्ने क्षमता वा सामर्थ्यलाई हामीले सिक्ने शक्ति भनेर पनि विनाविवाद भन्न सक्छौँ । त्यही सिक्ने शक्तिलाई सरस्वतीमा चित्रण गरिनुमा वा हामी भित्रै सरस्वतीको बास छ भन्नुमा हामीलाई कुनै आपत्ति छैन ।
यो सँगसँगै सरस्वती हामी मानिसमा मात्र विद्यमान छन् वा मानवबाहिर यत्र-तत्र सर्वत्र पनि भन्ने पनि जिज्ञासा हुन सक्दछ । यस सम्बसमा सरस्वतीका प्रवर्तक वैदिक ऋषिहरूकाे खास मत छ । यस सम्बन्धमा गीतका श्लाेक १३।२०-२३ ले ती मतकाे सार व्यक्त गर्छन् । याे मत अनुसार याे इन्द्रियले अनुभूत गर्नसक्ने सबै कुराहरू प्राकृतिक हुन् । साथै काममा सक्रियता (कार्य), कार्य सिद्धि गर्न आवश्यक साधन, पद्धति र सिदान्तहरू (करण), तथा सधैं कुनै न कुनै कार्यमा लत रहने प्रवृत्ति (कर्तव्य) पनि प्राकृतिक नै हुन् । फेरी, सुख र दु:खको अनुभूतिकर्ता चेतन तत्व पनि प्रकृतिकै आधारमा टेकिएर सँगसँगै अस्तित्वमा रहन्छ । त्यसैले, जहाँ प्रकृति छ, त्यहाँ पुरुष पनि स्वभावतः छ ।
हर प्राकृतिक वस्तुमा प्रकृति हुने कारणले त्यहाँ पुरुष पनि छ भन्ने वैदिक मत हो । यही पुरुषको उपस्थितिका कारण प्राकृतिक वस्तुहरूमा पनि अपनत्व हुन्छ, म र अर्कोको फरक छुट्याउने शक्ति, वा स्वतन्त्र पहिचानको गुण हुन्छ भनिएको छ । अनि यही पुरुष नै दैव वा देवत्वको (स्मरण रहोस् हिन्दू दर्शनमा देवता र ईश्वर फरक कुरा हुन्) प्रथम बीज (अधि दैव वा अधि-चेतना) हो भनेर गीतामा लेखिएको छ । प्रकृति जहाँ छ त्यहाँ पुरुष पनि स्वभावाः छ र पुरुष जहाँ छ त्यहाँ चेतना स्वभावतः छ भन्ने धारणा त्यहाँ राखिएको छ । यसबाट सिक्ने प्रवृत्तिको सूक्ष्मतम बीउ अर्थात् अधि-सरस्वती पनि हरेक प्राकृतिक वस्तुमा विद्यमान छ भन्ने मत वैदिक चिन्तकहरूले राखेका थिए भनेर भन्न सकिन्छ । आधुनिक विज्ञानले पनि हामीलाई भनिरहेको छ कि एउटा परमाणुमा पनि कुनै अकों परमाणुलाई मन पराउने वा तिरस्कार गर्ने अथात् त्यसमा आकर्षित वा विकर्षित हुने र त्यो हुन आवश्यक सूचनाको स्मरण गर्ने गुणहरू स्वभाविक रूपमा विद्यमान हुन्छन् । त्यसैले परमाणुमै आदिसरस्वती विद्यमान भएकाे मान्न सकिन्छ । अनि ज्ञान आर्जनकर्ता मानव त्यही बीजगुणक अति उन्नत रूप हाे भनेर भन्न सकिन्छ । यस अर्थमा वैदिक मत र वैज्ञानिक मतमा समानता रहेको दखिन्छ ।
प्रकृति भएको ठाउँमा पुरुष हुने, पुरुष भएकाे ठाउँमा चैतन्य (चेतना वा देवत्व) हुने र चैतन्य भएका ठाउँमा सरस्वती हुने हुनाले हामीभित्र र बाहिर समेत सरस्वती हुने कुरा मान्न सक्छाैं । त्यसैले, यो यो भन्न सकिन्छ कि हरेक ‘म’ भित्र सरस्वतीको वास छ । हरेक ‘म’ भित्र सिक्ने, सम्झने र सम्झेको कुरालाई पुनः उपयोगमा ल्याउनसक्ने क्षमता छ। त्यसैको अति-उन्नत रूप हो मानव ‘म’, जसमा विद्या आर्जनका लागि आवश्यक शक्ति अन्तर्निहित छ । जसलाई वैयक्तीकरण गरेर सरस्वतीको मूर्तिको प्रत्युत्पादन हुन गएको छ ।
हामीभित्रै सरस्वतीको वास हुनुको फलस्वरूप हामीले हाम्रा पुर्खाका विचारहरूलाई मेटेर हाम्राे मस्तिष्कलाई पश्चिमा विचारमय बनाउन घोर प्रयत्न गर्दै गर्दा पनि हामीलाई कुनै घाटा भएको छैन । हाम्रा विचारहरू मेटिनुको सट्टा अन्य विचार र दृष्टिहरूसँग मैथुनीभूत भएर हाम्रो देख्ने शक्ति थप परिष्कृत हुन पुगेको छ । एक्काइसौं शताब्दीका सूचना र सुविधाहरूले सुसज्जित हुनुका बावजूद पनि हाम्रो ज्ञान पूर्ण पनि छैन र शुद्ध पनि छैन भनेर हामीलाई थाहा हुन गएको छ । सहस्राब्दियों अघिका सूचनाका आधारमा तयार पूर्वजको ज्ञान पूर्ण हुन र शुद्ध हुन नसक्नुमा कुनै अन्यथा हुन सक्दैन भन्ने बोध हुन गएको छ । अब हामी अशुद्धताको टीका लगाइदिएर पूर्वजको ज्ञानको उपेक्षा वा तिरस्कार गर्नुको सट्टा त्यसको विवेचना गरेर पहिलेका मानिसले उब्जाएको ज्ञानबाट भए जति राम्रा कुराहरु प्राप्त गर्न र त्यसबाट थप फाइदा उठाउनु बुद्धिमानी ठान्न सक्ने बनेका छौँ । अनुकरण, अन्धानुकरण, विश्वास, अन्धविश्वास आदिको प्रवाहमा पिसिँदै हाम्राे प्राचीन सांस्कृतिक परम्पराको भग्नावशेष हामी सामु विद्यमान भएकोमा हामीलाई गौरव हुन गएकाे छ ।
उपसंहार
हाम्रा बा-आमा र हाम्रा गुरुहरूले हामीलाई सरस्वतीको मूर्तिको विवेचना नगरेको वा गर्न नसकेको हुनाले हामीलाई त्यो मूर्ति कुन रूढिवादको उपज जस्तो लाग्न गएको थियो । तर त्याे मूर्ती कुनै रुढिवादको उपज नभएर गहन दार्शनिक विचारको सचित्र प्रस्तुति हो । ती मूर्तिका कल्पनाकार कोही अबुझ मूर्खहरू नभएर दार्शनिक विचारकहरु हुन् । उनीहरूले आफ्नो बुझाइलाई अति मेहनत पूर्वक मूर्तिको माध्यमबाट अभिव्यक्त गर्न सफल भएको हुनाले नै शताब्दीयाैँ अनेकौं उथलपुथलका बावजूद संस्कृतिको भग्नावशेषकै रूपमा भए पनि त्यो प्राचीन दर्शन सरस्वतीका मूर्तिमा कुँदिएर हाम्रो पुस्तासम्म आइपुगेको छ ।
ऋग्वेदकालीन समाजले जन्माएको विद्याकी देवी सरस्वतीको परिकल्पना हाम्रो पुस्तासम्म आउँदा एउटा भग्नावशेषका रूपमा आएको छ, जहाँ सरस्वती पूज्ने संस्कार छ तर बुझ्ने संस्कार छैन । फलस्वरूप हामीमध्ये कतिलाई यो परिकल्पना कुनै रूढी होला भन्ने लाग्छ, तर वास्तवमा या कुनै रुढी नभएर तमाम अवयवले मिसिएको खानीको सुन जस्तो हो, जुन कुरा हामीले बल्ल बुझ्दैछाैंँ । ज्ञान, विचार र दर्शनलाई लेखेर भन्दा पनि कुँदेर प्रसारण गर्ने परम्पराकाे उपज स्वरूप हामीले ज्ञानकी देवी सरस्वतीको मूर्ति प्राप्त गरेका छौँ । सरस्वती नदीले प्राणी र बनस्पतिको भोक प्यास मेटाएर प्राकृतिक जीवनलाई समृद्ध बनाए झैं ज्ञानने जीवनलाई शान्त, शीतल र समृद्ध पार्छ भनेर चरितार्थ गर्न हामीले सरस्वतीलाई ज्ञानकी प्रतीकका रूपमा पाएका छाैँ । हाम्रा पूर्वजले हस्तान्तरण गरेको विद्या र ज्ञान आर्जनसम्बन्धी दार्शनिक विचार र संस्कारको जे जति भग्नावशेष उपलब्ध हुन गएको छ त्यसप्रति हामी नतमस्तक हुनु पर्छ ।
सरस्वतीको मूर्तिको सबै भन्दा प्रधान सन्देश-वाहक चिन्ह उनको वाहन हाँस हो । यो हाँस याे संसारमा अवस्थित ज्ञानको परिमाण अनन्त भएको हुनाले सम्भावनाको त्यस अनन्त सागरबाट एउटा विद्यार्थीले सारभूत कुरालाई मात्र ग्रहण गर्ने र बाँकी कुराहरुलाई छोड्ने गरेका ज्ञान आर्जन छिटो र प्रभावकारी हुन सक्दछ भनेर दर्शाउने उपमा हो । अनि जसरी हिलाेभित्र पसेर चर्ने त्यो हाँसले हिलोभित्रबाट आफ्नो शरीरलाई आवश्यक जैविक तत्वहरू मात्र रोजेर खान्छ र त्यहाँ भएका अरू अनावश्यक तत्वहरू छोड्छ, त्यसरी नै ज्ञान र विद्या आर्जन गर्ने व्यक्तिले पनि सारभूत कुरालाई छुट्याएर ग्रहण गरेर बाँकीलाई छोड्न सक्नु पर्दछ भनेर हाँसले चित्रण गर्दछ । यो हाँसको सेतो रङ्ग, सरस्वतीका सेता बस्त्र र सेतो कमलले जिज्ञासा, सचेतना र जागरूकता जस्ता सत्त्वगुणका भावलाई अङ्गीकार गरेर अज्ञान र द्वन्द्तामाथि ज्ञानको प्रभुत्व स्थापित गर्ने लक्ष्यलाई इङ्गित गर्दछन् । पानीको नदी वा तलाउले ज्ञानको यात्राको निरन्तरता र अविचिताको महत्वलाई दर्शाउँछ तथा जसरी पानीले सबै जीवात्माको जीवनलाई सिँञ्चित र एउटा मरूभूमिलाई पनि हराभरा पार्छ त्यसरी ज्ञानले मानिसको जीवनलाई रसयुक्त, शान्त र उर्वर पार्न सक्छ भनेर दर्शाउँछ ।
सरस्वतीको हातमा देखाइने वस्तुहरूले सरस्वतीको मूर्तिमा चित्रित ज्ञान आर्जनका उपायको अवलम्बनबाट प्राप्त हुने उपलब्धिलाई जनाउँछन् । ती मध्ये पुस्तकले पुरानाे ज्ञानकाे विश्वसनीय उपलब्धि र नयाँ उत्पादित ज्ञानको दस्तावेजीकरणलाई जनाउँछ । मालाले चौतर्फी दाैडिरहेको हाम्रो मनलाई एकाग्र पार्ने वा ध्यानमग्न बनाउने क्षमताको प्रतिनिधित्व गर्दछ । वीणाले विद्या र ज्ञान आर्जनमै मनोरञ्जन र आनन्द पनि प्राप्त हुनसक्ने कुरा दर्शाउँछ । कवितामा अभिव्यक्त गर्ने, छन्दमा लेख्ने, गीत बनाएर गाउने तथा ध्वनिलाई गुञ्जायमान बनाउँदै आनन्दसाथ पढ़्ने गर्यो भने व्यक्तिमा त्यसको सकारामक प्रभाव पर्दछ भन्ने कुरा दर्शाउँछ । गीत र कवितामा प्रसारण गरिने ज्ञानकाे व्यापकता बढी हुने र त्यसकाे सन्देशले मानिसमा बढी गहिराे छाप पार्ने कुरा जनाउँछ ।
हामीमा स्वाभाविक रूपमा जान्ने र सिक्ने क्षमता विद्यमान छ, अर्थात् हामी सवैभित्र प्राकृत रुपमा नै कुनै विद्यार्थी उपस्थित छ । त्यही सिक्ने शक्तिलाई नै सरस्वतीको उपस्थितिका रूपमा हामीले बुझ्नु पर्छ। अनि त्यो क्षमता हामी मानिसमा मात्र विद्यमान नभएर प्रकृति र ब्रम्हाण्डमा समेत विद्यमान छ । त्यसैले, जे कुरामा पनि उत्सुक रहनु एउटा मानिसको स्वभाव नै हो । यही कुरा जानेर हामीले विद्या र ज्ञानलाई कोठाबाहिर ल्याएर समस्त समाजमा फैलाउनु पर्छ । सबै नागरिकका छोराछोरीलाई विद्याले सुसज्जित पारेर सभ्य समाजको निर्माण गर्नु पर्छ । काम र पढाइलाई साथसाथै, जीवनभरि र निरन्तर अघि बढाउनु पर्छ । हामी सबै ‘म’ हरुभित्र विद्यमान सरस्वतीको उजागर गरेर उन्नत मानव बन्न सक्नु पर्छ ।
या देवी सर्वभूतेषु विद्यारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
ॐ श्री सरस्वत्यै नमः॥
प्रतिक्रिया