logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    गाँठो

    गाँठो

    एकादेशमा एक दिन झिसमिसेमा
    बाँदरले केराको थाम हल्लाए झैँ
    भूईंचालो मेरो डेराको घर हल्लाउन आयो
    र डेरा हल्लिदा जिन्दगीका पार्टपूर्जाहरु त्यसरी नै हल्लिए-
    जसरी कच्ची सडकमा गुड्दा
    पुरानो बसका पूर्जा हल्लिन्छन्
    र पेटभित्र सहनै नसकिने गाँठो पर्यो
    जसलाई डाक्टरले सकनट भन्दारहेछन्।
    तिमीलाई के थाहा
    तिमी नहुँदाका झिसमिसेहरुमा
    पेटभित्र गाँठो बटारियो भने
    म पेटको पीडा पिएरै छटपटिन्छु
    कयौँ दिनहरु ।।
    एक दिन सम्साँझैमा
    बा ले एक्कोहोरो दलिनतिर हेरे
    निकै बेर हेरे र आँखा बन्द गरे
    र कहिल्यै नफर्किने गरि सुदूर यात्रामा गए बा
    नफर्किने बाटो जानेहरु गएपछि
    यादहरु फर्की आईरहे घरि घरि
    र त्यही दलिनमा झुन्डिए यादहरु
    तिमीलाई त थाहै होला
    साँझपख चमेरा झुन्डिए जसरी
    दलिनमा झुन्डिएका यादहरु।। याद आउँदा
    घाँटीनेर गाँठो पर्छ
    नबिउँझिने गरि निदाउनेहरु
    निदाएको बेला भेट्न आँउछन्
    नफर्किने बाटो जानेहरु त
    कहिल्यै फर्केर आँउदैनन तर
    यादहरु भने फर्की फर्की आँउछन
    चौतारीको बूढो वर झैँ
    बूढो भएपछि यो तन।। यो मन ।।
    पालैपालो पातहरुले छोडी गए
    र छोडी गए फूलहरुले
    जुरेली ।।पुतली ।। गौंथलीका
    साथहरुले छोडी गए
    मुटुसित टाँस्सिएका साथहरुले छोडी जाँदा
    मुटु भित्र गाँंठो पर्छ
    तिमीलाई थाहै होला कि
    मुटुको गाँठो
    बाबियोको दाम्लोको गाँठो
    चोयाको नेतीको गाँठो
    तिम्रो पछ्यौरीको गाँठो भन्दा
    कयौँ गुना कसिलो हुन्छ
    अल्झिरहनछ ।। बल्झिरहन्छ।।
    कहिलेकाहीँ म सोच्ने गर्छु
    जीवन भन्नू पनि
    अनगिन्ती गाँठाहरुको गठबन्धन हो रहेछ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP