logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    पृथ्वीनारायण शाह जिवित हुँदै बनाइएको मुर्तिबारे…

    पृथ्वीनारायण शाह जिवित हुँदै बनाइएको मुर्तिबारे…

    तीन शताव्दी अगाडि जब नेपालमा पृथ्वीनारायण शाहको जन्म भएको थियो त्यसको ५ महिनापछि विश्व विख्यात राजनैतिक अर्थशास्त्री एडम स्मिथको जन्म भएको थियो ।

    पृथ्वीनारायणले जब बाबुसँग राजनीति सिक्दै कुटनैतिक प्रयास स्वरुप भक्तपुरका युवराजसँग मितेरी गाँस्दै थिए, एडम स्मिथ भने ग्लास्गो यूनिवर्सिटीमा प्रोफेसर भइसकेका थिए ।

    केही वर्ष अगाडिबाट बेलायत सरकारले बेलायती २० पाउण्डको नोटमा उनको तस्विर राखेर सम्मान गरेको छ । तर हाम्रो देश नेपालमा पृथ्वीनारायण शाह जसले साना साना टुक्रे राज्यलाई एक गरेर सिंगो नेपाल बनाए, उनको सम्मानमा कागजी नोटमा तस्विर राख्न चाहेन ।

    पृथ्वीनारायण शाहको समय कालमा स्वतन्त्र राष्ट्रको रुपमा अमेरिकाको जन्म भएकै थिएन । जुन बेला पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणको तैयारी गर्दै थिए । त्यति बेला जर्ज वाशिंगटनको नेतृत्वमा अमेरिका स्वतन्त्रताको लडाइ लड्दै थियो । त्यस अगाडि फ्रान्सेली तथा बेलायती साम्राज्यको खेलमा अमेरिका टुक्रा टुक्रा थियो । पृथ्वीनारायण शाहको मृत्युको समय तिर जर्ज वाशिंगटनले पहिलो सफलता हासिल गर्दै फिलाडेल्फियामा बसेर संयुक्त राष्ट्रको घोषणा गरेका थिए । अमेरिका स्वतन्त्र भएर जर्ज वाशिंगटन पहिलो राष्ट्रपति बन्दा सम्म त नेपालको एकिकरण अभियानमा अधिराजकुमार बहादुर शाह अगाडि बढेर विशाल नेपाल बनाइसकेका थिए ।

    तीन सय वर्षको अवधीमा अमेरिका विश्वको प्रमुख राष्ट्रमा पुग्न सफल भयो तर हामी अझै एक अर्कालाई गाली गर्दै र एक अर्काको खुट्टा तान्दै आनन्दित भइरहेका छौँ । हाम्रो इतिहास कति पुरानो छ । हाम्रो संस्कृति कति बलियो छ । हाम्रो संस्कार कति गहन छ । तर हामी कुवाको भ्यागुतो झैँ माथि कसैलाई पुग्न नै दिँदैनौ, तानेर खसाली हाल्छौँ । यो केवल राजनीतिमा मात्र होइन । यो सबै ठाउँमा लागु हुन्छ । आफू अगाडि बढ्न सबैको साथ होइन हामी अरुको पतनलाई सर्वस्वीकार्य मान्दछौँ । अरुलाई खसाल्न पाए त्यहाँ म पुग्थेँ भन्ने मानसिकतामा ग्रसित छौँ । जसले गर्दा आज कसैलाई तल खसाल्न तल्लिन हामी, भोली हामीलाई तल खसाल्न अर्को तैयार भएर बसेको हुन्छ ।

    मल्लकालका समृद्धिलाई बिर्सिएर उपत्यकाका नेवारलाई गाली गर्न थाल्यौँ । राणाकालका बैदेशिक नीति र विकासका खाकाहरुलाई बिर्सिएर राणाका मोज र महललाई मात्र देख्यौँ । तर अहिले चन्द्रशमेशरले बनाएको सिंहदरवारमा बसेर देश हाँक्दैछौँ र कृष्णशम्शेरले सित्तैमा दिएर गएको शितल निवासमा राष्ट्रपतिलाई राखेर देशको अस्तित्वको खाका बुन्दैछौँ । पृथ्वीनारायण शाहको एकिकरणले नेपाली हुन पाएको बिर्सिएर शाहकालिन इतिहासलाई गालि गर्न छोड्दैनौँ । लडाइमा एक पक्षको हार हुन्छ अर्को पक्षको जित हुन्छ । जित्नेको इतिहास लेखिन्छ । हार्नेलाई बिर्सन थाल्दछौँ । इतिहास पल्टाएर हेर्यौँ भने पृथ्वीनारायण शाहको एकिकरण अभियानमा हजारौँको मृत्यु भयो । तर एक सिङ्गो नेपालको रुपमा आज नेपाली हुन पायौ । अन्यथा बाइसे चौबिसेको अस्तित्व बेलायती साम्राज्यभित्र बिलाउने थियो ।

    पृथ्वीनारायणको शालिक तोडेर वा छ्याकस् ल्वहंमा थुक्दैमा इतिहास मेटिँदैन । छ्याकस् ल्वहंमा थुक्ने कीर्तिपुरवासीको आक्रोश हो यसलाई बन्देज लगाउनु हुँदैन । बरु कीर्तिलक्ष्मीलाई पनि राज्यले सम्मान गरोस् भनेर भन्नु आवश्यक थियो । हार भए पनि कीर्तिपुरकी कीर्तिलक्ष्मी विरांगना थिइन् ।

    शाहवंशका सबै राजा राम्रा थिए भनेर कसैले पनि मानेका छैनन् । हाम्रो परिवार भित्र पनि कहिले काहीँ एकदुई पटमुर्ख निस्कन्छन् । त्यसो भयो भन्दैमा शाह राजा सबैलाई गाली गर्नु मनासिव हुँदैन । पृथ्वीनारायण शाह आफैँले पनि आफ्नो जेठा छोरा सहि नभएको राजा हुन योग्य नभएको भन्ने आभास पाएका थिए । तर पनि कान्छो छोरा बहादुर शाहलाई युवराज घोषणा गर्ने आँट गर्न सकेनन् । जसले गर्दा उनको मृत्यु पछि राजा बनेका प्रतापसिंह शाहको राजकाज गतिशिल हुन सकेन । यस्तैमा केवल २६ वर्षकै उमेरमा क्षयरोगबाट उनको मृत्यु भयो । त्यसपछि राजा बनेका रणबहादुर शाह झन निकम्मा भए ।

    आखिर जे जसरी हामीले सोचे पनि नेपाल भन्ने सिंगो राज्यको परिकल्पना गर्ने र एकिकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाह नै हुन् । देशले उनको योगदाको कदर गर्ने पर्छ ।

    पृथ्वीनारायण शाह वास्तवमा कस्ता थिए भन्ने उनको तस्विर भेटिँदैन तर उनी जीवित हुँदै बनाइएको मुर्ति नुवाकोटमा छ । पृथ्वीनारायण शाह आफैँले बनाउन लगाएको यस कालो ढुङ्गाको मुर्ति वि.सं. १८१६ तिर बनाउन लगाएको अनुमान गरिएको छ । अन्दाजी ३७ वर्ष उमेर हुँदा बनाइएको यो मुर्तिमा पृथ्वीनारायण शाह नम्र रुपमा दुई आँखा बन्द गरेर, दुई हात जोडेर, घुँडा टेकेर भक्तिभावले कसैको सामु प्रार्थना गरिरहेको जस्तो लाग्दछ । उनको जुँगा हेर्दा कुनै सेनापतिको आभास हुन्छ । यो मुर्ति कीर्तिपुरसँगको पहिलो आक्रमणको हार र सेनापति कालु पाण्डेको मृत्युले दुखित भए पछि युद्ध त्यागेर गोर्खामा बसिरहेको बेलामा बनाइएको थियो । शायद नयाँ युद्धको तैयारीका लागि सैनिक अभ्यासका साथ साथै देवी भक्तिको पनि श्रृंखला शुरु भएको हुनुपर्दछ । यसरी देवी भक्तिबाट साहस बटुलेर १८१६ मा शिवपुरी काभ्रे विजय गरे भने १८२० मा मकवानपुर विजय गरेका थिए ।

    अर्को चित्र भने गढवाली चित्रकार मौलारामले कोरिदिएका थिए । तर यो चित्रमा उनको मुहारको वास्तविक आकृति भन्दा पनि बढि मुगलशैली देखिन्छ । नुवाकोट दरवारमा भएको मुर्तिमा भने उनको अनुहार केही भिन्न देखिन्छ ।

    आखिर को हुन् त मौलाराम र किन मौलारामले पृथ्वीनारायणको चित्र कोरे ?

    मुगल शासक शाहजहाँको शासनकाल (सन १६२८/१६५८) जुनबेला दिल्ली तथा आगरामा थियो । त्यसबेला पृथ्वीनारायण शाहका बुढा जिजुबाजे रामशाहको शासनकाल (सन १६०६/१६३३) करिब-करिब अन्तिम समय थियो । त्यसपछि गोर्खामा राजाहरुको छोटो शासनकालहरु भेटिन्छ । जसमा डम्बर शाह, कृष्ण शाह र रुद्र शाहको समयकालसम्म पनि शाहजहाँ मुगल सम्राट नै थिए । जुनबेला आगरामा ताजमहल बन्दै थियो, गोरखामा डम्बर शाह र कृष्ण शाहको शासनकाल चलिरहेको थियो । यिनै शाहजहाँको मृत्युपछि राजा बनेका उनका छोरा औरंगजेबको समयमा दिल्ली दरवारबाट भागेर तीन चित्रकार गढवाल पुगेका थिए । यसरी मुगल साम्राज्यबाट भागेर गढवाल पुगेका हरदासको नाति नै मौलाराम हुन् । मौलारामलाई अहिले विश्व विख्यात भएको गढवाली चित्रकारिताको जन्मदाता मानिन्छ । यिनै मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा पनि केही गन्ध गढवाली शैलीको आएको देखिन्छ । त्यतिबेलाका चित्रकारितामा दुइ शैली प्रख्यात थिए कांगडा शैली र गढवाली शैली । कांगडा शैलीमा अनुहारको आकारमा निधार देखि नाकसम्म सिधा धर्सो हुन्थ्यो भने चिउडोबाट घाँटीसम्म पनि सिधा धर्सो तानिन्थ्यो । जसले गर्दा अनुहार चारपाटे देखिन्थ्यो । तर गढवालीशैलीमा भने निधारबाट नाकसम्ममा बिचमा केही गहिराइ हुन्थ्यो । साथै चिउडोबाट गलामा पनि केही घुमाउरो हुन्थ्यो ।

    चित्रमा देखिने हातमा फूल लिने तथा बसाइशैली भने मुगलशैली थियो । शिरमा लगाइएको श्रीपेच भने शाह राजाको श्रीपेच नै थियो । यो चित्र गढवाली चित्रकार मौलारामले कोरेको स्पष्ट देख्न सकिन्छ ।
    मौलारामको जन्म बि।सं। १८०० मा भएको थियो । गढवालमा चौतरिया हस्ती दल थापा गवर्नर थिए । हस्ति दलको युद्धमा मृत्यु भए पछि भैरों थापा गोर्खाली गर्वनरका रुपमा बि।सं। १८६५ मा गढवाल पुगेका थिए । उनको चर्चा क्रुर प्रशासकका रुपमा गढवाली सामु रहन गयो । गढवाली जनता माथि अत्यधिक अनावश्यक करहरु पनि थोपरिएको थियो । यो सबबाट दुखी भएका मौलारामले नेपालमा मुख्तियार भीमसेन थापालाई पत्र पठाएर जानकारी गराएका थिए । मौलारामले गढवाल सरकारबाट पाइरहेको सुविधा तथा जागिर पनि भैरों थापाले खोसेका थिए । यसरी पिडा झेलेका मौलाराम त्यहि समय काठमाडौँ पुगेका थिए । भीमसेन थापाले उनको जागीर तथा रोकिएको तलब तथा भत्ता फिर्ता दिलाउने निर्णय गरेका थिए । काठमाडौँमा राजा गिर्वाणको शासनकाल थियो । राजा गिर्वाणसँग मौलारामको भेट भएको थियो वा थिएन भन्ने उल्लेख कतै भेटिँदैन । तर मुख्तियार भीमसेन थापाले उनको जागीर फिर्ता गर्ने निर्णय गरेका थिए । यसरी भीमसेन थापाबाट जागीर फिर्ता पाएका मौलारामले काठमाडौँ आउँदा बि.सं. १८६६ तिर पृथ्वीनारायण शाहको चित्र कोरेको हुनुपर्दछ ।

    बि.सं. १८६६ मा मुख्तियार भीमसेन थापाले गोर्खाली सेनाको कमाण्डर काजी बख्तावर सिंह बस्न्यातलाई गढवालका गवर्नर बनाएर गढवाल पठाएका थिए । काजी बख्तावर सिंहले श्रीनगरमा मौलारामलाई भेटेर पुरस्कृत गरेका थिए । यसका साथै बख्तावर सिंहले उनको जागीर फिर्ता गराउनुका साथै ६१ स्वर्ण मुद्रा, एक घोडा, एक राजकीय वस्त्र, तथा केही हतियार पनि दिएका थिए । यसरी खुशी भएका मौलारामले काजी बख्तावर सिंहको प्रशंसा गर्दै ‘बख्तावर यश चन्द्रिका’ नामक काव्य लेखेर गोर्खालीको गढवाल विजयको इतिहास वर्णन गरेका थिए । साथै राजा रणबहादुर शाहको विषयमा रणबहादुर चन्द्रिका पनि लेखेका थिए । यसरी गोर्खालीको प्रशंसा गरेका मौलारामले एकिकरणका नायक पृथ्वीनारायण शाहको चित्र कोरेको मान्न सकिन्छ ।

    पछि यहि चित्रको आधारमा राजा महेन्द्रको शासनकालमा बि.सं. २०२५ सालमा नेपाली चित्रकार केके कर्माचार्यले फूलको ठाउँमा दाहिने हातको चोर औँलालाई सिधा ठड्याएर एकताको प्रतिक चित्र बनाए । जुन चित्र हुलाक टिकटमा प्रयोग भएको थियो । नेपाल एकिकरणको जनकको रुपमा औँला ठड्याइएको तस्विर नै अहिले सर्वत्र देखिन्छ । राजा महेन्द्रको शासनकालमा नै अमर चित्रकारलाई नेपालका राजाहरुको चित्र कोर्ने जिम्मा लगाइयो ।

    यसरी चित्र कोर्ने क्रममा अमर चित्रकारले बालकृष्ण समको सरसल्लाहमा आज विभिन्न मुर्ति तथा चित्रमा देखिने उभिएका पृथ्वीनारायण शाहको तस्विर कोरेका थिए ।



    सुनिल उलक सुनिल उलक




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP