logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    सक्कली के छ र?

    सक्कली के छ र?

    “लौ सत्यनाश भएछ। के सुन्न पर्‍यो जगते?”

    “किन के भयो र काका?”

    “लौ तैँले समाचार सुन्दैनस्? पत्रपत्रिका पढ्दैनस्?

    “ह्या काका पनि। के भयो भन्नुन? अनि फुर्सदमा कहाँ हुन्छु र म?” जगते जिज्ञासु नजरले काकातर्फ हेर्दै सोध्छ।

    “दुबैका राजकुमार नक्कली रे। सुनको लौरो नक्कली रे। सुनिनस्?” काका गललल हाँस्दै जवाफ फर्काउँछन्।

    “हैन त्यत्रो मिडियामा आएको कुरा पहिला सबै सक्कली थिए अहिले कसरी नक्कली भयो अनि?” जगते काका तर्फ हेर्दै प्रश्न तेर्सायो।

    कपाल कन्याउँदै काकाले उत्तर दिए “खै त्यो त म के जानौँ?”

    काका थप भन्दै थिए  “हुन त बाबू राम्रो काम गरे बापत स्याबासी कहाँ पाईन्छ र? यी प्रसाईंले मोफसलमा एउटा गुणस्तरको अस्पताल खोलेका छन त्यसकै विरोध नि गर्छन्। खोइरो खन्ने र आफ्नो प्रमोशन गर्ने त मिडिया न हो। चाहे त्यो सहि होस या गलत तर केही मिडियाले आफू बाजी मार्न जस्तै नि प्रचार गर्न सक्छन्। अझ युट्युबे पत्रकारको बिगबिगी रहेको हाम्रो समाज कस्तो होला आफै सोच न?”

    “गम्भीर विषय उठाउनु भयो काका। तर हुन त नेपालमा सक्कली के नै छ र?”

    “किन बाबु?” काका अन्योलको भावमा जगते तर्फ हेर्छन्।

    “घोषणापत्र सक्कली तर नेता आए नक्कली

    आश्वासन सक्कली तर कार्यन्वयन नक्कली

    कोहि डाक्टर सक्कली तर प्लस टु कागज नक्कली

    कोहि मास्टर सक्कली एसएलसी सर्टिफिकेट नक्कली।”

    सानो छ्न्दमा जगते निराश भावले स्प्ष्ट हुन खोज्दै भन्छ।

    “नेता, डाक्टर अनि मास्टर मात्र हुन त नक्कली? तेरो कुराले सचेत गरायो मलाई अन्य नि होलान नि?” काका जगते लाई थप सोध्छन अनि छेउको बोत्तलको पानी पिउन लाग्छन्।

    जगते अझ निरुत्साहित हुँदै भन्छ

    “एयरपोर्ट कानुन सक्कली तर कर्मचारी नक्कली

    सुन आउँछ सक्कली तर भेट्दा हुन्छ नक्कली

    १० ग्राम पो सक्कली तर ३३ केजि नक्कली ”

    यति भनिरहँदा काका रोक्दै भन्छन्, “हो है जगते ठिक भनिस्। त्यही त यो लौरो आउँदा भन्सार विभागमा केही जानकारी थिएन रे। खै कसरी छिर्‍यो अध्यागमन विभागबाट भित्र। कसैले आधिकारिक आएको भनेका छैनन फेरि। ”

    “हो हो काका। अब नेपालको कानुन नेताले जानुन।” जगते बिचाराधिन हुँदै भन्छ

    “गल्ती देखियो प्रमाण चाहिन्छ

    प्रमाण जुटाउन समिति चाहिन्छ

    अपराध त्यहाँ प्रष्ट देखिन्छ

    तर

    अन्तिममा सक्कली प्रमाण मेटिन्छ।”

    जगते केही छानविन समितिको अस्प्ष्ट एवम ढिला साथै सक्कली विषयबस्तु परिमार्जन गर्दै नक्कली बनाउने कार्य प्रगतिका कारण आफ्नो आक्रोस पोख्छ।

    “जगते अनि सबै सक्कली प्रमाण भेटिरहँदा नि दोषिलाई उन्मुक्ति  दिने नियम के बिडम्बना होला है नेपाली जनताको?” काका कौतुहुल हुँदै सोध्छन्।

    “आश्वासन र सुशासन नक्कली

    न्याय दिने प्रणाली नक्कली

    कहाँ गए अधिकारवादीहरु

    उनीहरुको कार्यशैली नक्कली”

    जगते थप भन्छ ”

    “हेर जगते तैले राजनीति मात्र जोडिस अन्य क्षेत्रमा पनि त यस्तै नक्कली तन्त्र हाबी भएको होला नि?” काका जगतेलाई प्रश्न गर्छन्।

    “छ नि काका। किन नहुनु देशमा केही स्थानमा यस्ता धेरै  नक्कली प्रवृत्ति हावी भएको छ।” जगते एकछीन सोच मग्न हुन्छ।

    काका- “जस्तै?”

    “चिल्लो सडक बनाउछन सक्कली

    तर गुणस्तर नक्कली

    खाने पानी धारामा सक्कली

    तर शुद्धता असाध्यै नक्कली।” जगते टाउको कन्याउँदै अझ थप्छ।

    “वर्ष दिनमा आउने बजेट सक्कली

    तर कर हेरफेर नक्कली

    अरुबेला सिसिटिभी दृश्य सक्कली

    तर त्यसबेलाको फुटेज नक्कली।”

    “त्यही त जगते असारा अर्थमन्त्रीले बजेट ल्याउँदा कर हेरफेर गरेको कत्रो गन्थन भयो। आखिर सबै तर्फबाट दोषी देखिरहँदा पनि सिसि क्यामेराको फुटेज कि के जाती भिडियो नभेट्टिनु त ठुलो चलखेल देखिन्छ नि है?” काका जिज्ञासामा सोध्छन्।

    “हो नि काका अब हामीले के नै गर्न सक्छौ र? देश यस्तो पिडादायी अवस्थामा रहि रहदा पनि नेताका ज्ञानका चक्षु कहिले खुल्ने हो?” पारी क्षितिज तर्फ हेर्दै जगते मलिन श्वरमा भन्छ।

    “ईन्टरनेट प्रदायक कम्पनी सक्कली

    तर ईन्टरनेट चल्ने गति नक्कली

    ठुला ठुला भ्यू टावर सक्कली

    गरिबको दुख अनि व्यथा नक्कली।”

    धिक्कार लाग्छ काका देशको परिस्थिति देख्दा।

    “त्यही त जगते। मजा लाग्यो आज तँसंग गफ गर्दा। एकछिन भएपनी देशको बारेमा कुरा गर्न पाईयो। तर अरु नि धेरै उरा होला नि यस्तै सुना न।” काका जगतेको काँधमा हात राख्दै आफ्ना थप कौतुहुलता मेटाउन चाहन्छन्।

    जगते एकछिन एकोहोरी रहेर पढिरहेका पाठकहरु तर्फ औँला देखाउँदै भन्छ “जस्तै… ल पाठक वर्ग  सबै तपाईं माझ छाडेँ। थप्दै जानुहोला।”



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP