logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    तामाङ समुदायको मौलिक सोनाम–ल्होछार महान–पर्व एक, उत्सव अनेक

    तामाङ समुदायको मौलिक सोनाम–ल्होछार महान–पर्व एक, उत्सव अनेक

    अजितमान तामाङ

    के हो ल्होछार परम्परा ?

    तामाङ भाषामा नयाँवर्ष उत्सवलाई ल्होछार भनिन्छ । यसरी नै नेपालमा यही पर्वलाई ह्योल्मो, शेर्पा तथा तिब्बती समुदायहरुले लोसार भनेर बडो हर्सोल्लासकासाथ मनाउने गरि आएका छन् । यहाँ तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । तामाङ परम्परामा ल्हो ले सम्बत, वर्ष, उमेर, आदि जनाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ । यहि ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ भनेर सदियौंदेखि मानि आएको छ । किन भने यसै बेला आदिवासी थारु तथा मगर जातिको पनि माघि पर्व पर्दछ । ल्हो को बाह्र वर्षेचक्र (सम्वत) को नाम विभिन्न १२ जीव तथा पंक्षिहरुको नामबाट रहेको हुन्छ । जसका क्रमशः १.  नाम्युङ/ङ्याम्ङगु/जीवा (मुसा) ल्हो, २.  म्हे/ग्लाब/लाङ (गोरु), ल्हो ३.  च्यान/च्यन/ता (बाघ) ल्हो, ४.  हे/तावर/ह्योअी (खरायो) ल्हो, ५.  मुपुखी/डुक (ड्राइगन) ल्हो, ६. पुख्री/सापुख्री/डुल (सर्प) ल्हो,७. ताबु/ ता/ताग (घोडा) ल्हो, ८.  ग्यु/ल्हुक (भेडा) ल्हो, ९.  माकर/तीम्ङ्यु/टे/प्रे (बाँदर) ल्हो, १०.  नामे/ ङ्याम्ङ्या/ज्या (चरा), ११.  नाकी/नाखी/खी (कुकुर) ल्हो र १२.  डोवा/ड्वा/फाग (बँदेल) ल्हो रहेको हुन्छ ।

    यी ल्होहरु मध्ये यसपाली चरा ल्हो (सम्वत) को बिदा गर्ने र कुकुर ल्हो को स्वागत गर्ने हुन्छ । यसरी चरा वर्षको बिदा गर्ने उत्सवलाई नै तामाङ भाषामा नागी/नाखी ल्होछार भनिन्छ । यी ल्हो (सम्बत) सँगै नै पाँचखामहरु मध्ये एक खाम रहेको हुन्छ भने खामको पनि स्त्री र पुरुष मध्ये एकको प्रभाव रहने हुन्छ । यसपाली माटो–पुरुष–कुकुर वर्षमा परेको छ । यी खामहरु क्रमशः १. सा (माटो), २. क्युअी/की/छी (पानी), ३. मे (आगो), ४. फाअी/च्या (फलाम) र ५ सीङ (काठ) हुन् । हरेक वर्ष एउटा ल्हो पिच्छे याब र युम (पुरुष र स्त्री) खाम मध्ये एक रहेको हुन्छ । ल्हो, खामको साथै ग्रह, नक्षेत्र, आदिको माध्यमबाट खगोलिय पिण्डहरुको स्थितीका बारेमा जानकारी भएपछि यसैको आधारमा घडिपला, दिन, महिनाको निर्धारण तथा सो दिनहरुको साईत शुभ, अशुभ, भविष्यको प्रभाव आदि पञ्चाङग ज्यातिषशास्त्रको निर्धारण गर्ने गरिन्छ । यसरी सम्वत्, मुख्य भूमिका निर्वाह गर्ने दुई जिवजन्तुको नामबाट रहेको वर्ष, खाम तत्वहरु सबै चिन्हात्मक आधारमा अवलोकन अध्ययन गर्ने भएकोले यो खगोल तथा ज्योतिष शास्त्रको अध्ययनलाई  Elemental Astronomy & Astrology भनेर चिनिन्छ । यो विधि चीनमा उत्पत्ति भएको हुँदा तामाङ भाषामा ग्याची/नागची भनिन्छ । यसैलाई ग्रहनक्षत्रको उत्पत्तिका सिद्धान्तका आधारमा हुने गणना गरिने भएकोले तामाङहरु ज्युङ्ची अर्थात्   Elemental Astronomy & Astrology  भनिन्छ । यो नै हाम्रो मौलिक परम्परा हो । हामी तामाङहरु यसै परम्पराका आधारमा आफ्नो ची, मुटु च्याबा अर्थात् भविष्यवाणी गर्ने, उमेर, साल–सम्बत्, महिना, दिन, बार आदिको निर्धारण गर्नेदेखि शुभ अशुभ साइत हेर्ने जुराउने आदि गर्ने गरिँदै आएको छ । यो परम्परा नाग्ची हो भने सैद्धान्तिक दृष्टिबाट ज्युङ्ची भनेर सदियौंदेखि मानी चलिआएको हामी तामाङहरुको प्रचलन हो ।

    कहिले कुन दिन र समयमा ल्होछार मनाइन्छ ?

    आजभन्दा ५ हजार वर्ष अघिदेखिको तामाङ समुदायले मनाउँदै, चलाउँदै आएको यो परम्पराको आधारमा नै तामाङभाषामा बौद्ध स्तुपलाई ज्यारोङखास्योर भनेर चिनिन्छ । यहाँ ज्याले चरा वर्षको संकेत गर्दछ भने हरेक बाह्र वर्षमा चरा वर्षमा बाह्र वर्षे मेला लाग्ने गरि आएको छ । यसपाली बाह्रवर्षे चरा वर्षको मेलाको संयोग परेको थियो । यसैगरी स्वयम्भू स्तुपालाई तामाङ भाषामा फाबासिङगुन भनेर चिनिन्छ । यो पनि फाग अर्थात बँदेल वर्षमा मनाएको तामाङ विश्वास दरिलो प्रमाण स्वयम्भूमाथिको ठूलो बज्र मुनीको ल्होखोर बाह्रवर्षे तामाङ वर्षचक्रको बँदेल यसको पूर्व प्रदेशमा रहेको छ । यसरी लिखत लिपिको विकास हुन अगावैदेखि स्वयम्भू र बौद्ध प्रचाीन स्तुपाहरुको सम्बन्धमा तामाङ यो ल्हो (सम्वत) परम्पराको प्रयोग हुँदै आएको विश्वास गरिन्छ ।

    यस्तो ऐतिहासिक प्राचीन तामाङ सम्वत ल्हो वर्षचक्र अनुसारको नयाँ वर्ष कहिले र किन मनाइन्छ त ? पर्वभन्दा हामीतामाङले माघ महिनामा ल्हो फेर्छ भन्ने मान्यताका आधारमा नेपालमा तानाशाही जहनिया राणा शासन पछिका ३० वर्षे पञ्चायति निर्दलीय व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी भएको सांस्कृतिक अधिकारको स्थापनाका तामाङ आन्दोलका दौरानमा ठम्याउँदै राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको अवस्थामा करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायकाबीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनामोहन अधिकारीज्यूको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सूचीमा सूचीकृत भई यो सोनम लोसार÷तामाङ ल्होछार पर्वले राज्यबाट ल्होछार मान्नेहरुका लागि भनेर पहिलो चोटी राष्ट्रिय पर्वको मान्यता प्राप्त राष्ट्रिय पर्व, तामाङ समुदायको सोनाम ल्होछार नयाँवर्ष पनि यही हो । यो पर्व यसपाली नेपाल देसीय पञ्चाङग समितिबाट प्रकाशित तथा स्वीकृत देशैभरीको पात्रो तथा पञ्चाङगहरुमा पर्वहरुको बिदाको सूचीमा यसपाली माघ शुक्लपक्ष प्रतिपदाका दिन माघ ४ गते  तदनुसार जनवरी १८ का दिनमा ल्होछारको तिथि मिति परेको छ ।

    कसरी मनाइँदै छ तर ल्होछार ?

    सदिऔंदेखि तामाङ समुदाय लगायतले मानिआएको यो पर्वले राज्यबाट राष्ट्रिय पर्वको मान्यता प्राप्त गरेको पछि पनि आज २० औं भन्दा बढी ल्होछारका उत्सवका अब इतिहास बनिसेकेको हामी तामाङहरुको पावन महान ल्होछार सम्बन्धमा दिग्म्रमित नहोस्, तामाङ पहिचानको सांस्कृति विरासतहरुको रक्षा तथा संरक्षण, सम्वद्र्धनार्थ यसपालि माघ २, ३, ४ र ५ गतेसम्म काठमाण्डौको टुँडीखेलमा भव्य समारोहकासाथ विगत वर्षहरुमा झैं तामाङ सामाजिक संघ–संस्थाहरुले ल्होछार महोत्सवको साथै सांस्कृतिक महोत्सव–२८५४ सफलतापूर्वक सम्पन्न गर्न १००१ सदस्य रहेको राष्ट्रिय सोनम ल्होछार समारोहको भव्य तयारी सम्पन्न भइसकेको छ ।

    यसको अलावा तामाङहरुले ल्होछार आउनु एक महिना अगावैदेखि गाउँघरका पँधेरा, बाटोघाटो सर–सफाई गर्ने, टाढा पुगेका इष्टमित्रहरुलाई बोलाउने, घरमा तान बुन्दै गरेको आधा मात्र भएको भएपनि तान काट्ने टुंग्याउने गरिन्छ । ल्होछारका एक दिन अगाडि बेलुकी मध्येरातको ११ बजे पुरानो ल्हो को बिदाइ समारोह ल्होदोबा मुन गुथुक क्वाटि जस्तो ९ प्रकारका गेडागुडीसहितको पिठोमा मम झैं पोका पारेर खान हुने नहुने अंगार, भेडाको भुत्ला आदि राखि पकाइएको खानको डोनसोल (भोज–भतेर) को आयोजना घर–टोलमा गर्ने गरिन्छ । गुथुक खाँदा जसको भागमा नखाने वस्तुहरु परेको हुन्छ ती व्यतिmहरुको आगामी वर्ष अशुभ, नराम्रो हुने धारणा बनाईन्छ । राती नै पुरानो भइ रहेको वर्षको बिदावारी गरिन्छ ।

    भोलिपल्ट घरघरमा घर मुलिले नुहाएर साङ वरीपरी परिवारका सदस्यजनलाई छेरीङ्खाइ भनेर दिर्घायुको आशिर्वादको साथै नगद भेटी दिने परम्परा रहेको छ । ल्होछार नयाँ वर्ष उत्सवका दिन गाउँघरको सार्वजनिक उपयुक्त डाडाँको थुम्को वा चउरीमा भेला भई सांस्कतिक कार्यक्रमसहित सामूहिक नाचगान कार्यक्रम गाउँका सबै गाउँलेहरुलाई बराबरी लगानीमा ह्रोसोल (बनभोज) समेत गरिन्छ । ल्होछारको पहिलो दिन पछिका दिनहरुमा आफन्तजनहरुलाई घरघरमा बोलाएर ल्होछारको डोन खुवाउने गरिन्छ भने बाह्र तामाङ ग्ले बाह्रगाउँका नेपो (प्रमुख) चाहोले भोलिपल्टका दिनमा ल्होछारको खुशियालीम शुभकामनाको साथै ग्लेइल्होछार–डोन अर्थात् ग्याल्साला चोहोला–डोन (ग्यालबोई) डोनसोल क्यङबा गेताङ गरिन्छ । यसलाई ग्याल्बो ल्होछार भनिन्छ । यो बाहेक पनि विभिन्न रुपमा लामागुरुहरुले ल्होछार अगाडी नै पनि नराम्रा पक्षहरुको शास्त्रीय विधि अनुसार पुजा आयोजना गरि बिदा तथा सम्मानपूर्वक फाइङसी गरेर पठाउने पुजाहर गरिन्छ ।

    तामाङ सोनाम ल्होछार तिथि र मिति नेपाल देसीय पञ्चाङ्ग अनुसार यसपाली २०७४ साल माघ ४ गते नै हो ?

    सोनाम ल्होछारः तामाङ समुदायले पुरानो विरासतको रुपमा मनाउँदै आएको सोनाम ल्होछार तिथि मितिमा परिवर्तनभएको छैन । यसपाली चन्द्रमास अनुसार तामाङले आफ्नो ल्हो फेर्छ भनि आएकै तिथि र मितिमा यसपाली तामाङ भाषामा तामाङ खगोलशास्त्र तथा ज्योतिषशास्त्रको ग्याची अर्थात् ज्युङची अनुसारको यसपाली चरावर्ष समापन भइ नयाँ नाखील्हो (कुकुर वर्ष) प्रवेश प्रथम तामाङ चन्द्र महिना ख्रेला छेपा गी नेपाल देसीय पञ्चाङ अनुसार माघ शुक्लपक्ष प्रतिपदा अर्थात माघ ४ गते तदनुसार गमरेगोगोरियन अंग्रेजी पात्रो अनुसार जनवरी महिनाको १८ तारिकका दिन परेको छ । यहि पर्व नेपालका अन्य आदिवासी समुदायहरु ह्योल्मो, डोल्पोको रुङ, गुगेतिब्बतका प्राचीन तामाङ बाब्सा स्थल स्याङस्युङ प्रदेशमा पनि स्याङस्युङ नाग्ची अनुसार यहि दिन ल्होछार उत्सव मनाउँदै छन् । तसर्थ ल्होछारका तिथि मितिका बारेमा हामी नेपाल तथा दक्षिण पश्चिम तिब्बतमा नेपाल देसीय पात्रो अनुसार माघ शुक्लपक्ष प्रतिपदाका दिनदेखि नै सोनाम ल्होछार मनाउने तयारीमा रहेका छन् ।

    चिनमा सोनाम ल्होछारः नेपाल बाहेक सोनाम ल्होछार कै दिन मानिदै आएको ल्होछार यसपाली चीनमा १९ वर्षे विशेष चरावर्षको परेको कारण चिनिया चन्द्र पात्रोमा सामान्य भन्दा बेसी ३८४ दिनको चन्द्र वर्ष अर्थात् सामान्य अधिकमास वर्षमा भन्दा बढि चन्द्रदिनहरु हुन पुगेका छन् । सामान्य वर्षहरुमा चन्द्रवर्ष २०.५x१२ =३५४ हुन्छ । विशेष यसपाली भने चिनिया चन्द्रपात्रोमा ६ x२९=१७४ हुन्छ । विशेष यसपलाी भने चिनिया चन्द्रपात्रोमा ६x२९=१७४+ ७ x३०=२१०=३८४ चन्द्र दिन हुन पुगेको छ । यसले गर्दा चिनमा चन्द्र नयाँवर्षको रुपमा मनाउँदै आएको इस्प्रीङ फेष्टिभल लिचुन फेवररी महिनाको ३ या ४ तारिकमा हुनुपर्नेमा अस्वभाविक रुपमा हुन गएको छ । तसर्थ यसपालीको चरावर्षमा एउटा लिचुन अर्थात् इस्प्रीङ फेस्टिभल सन २०१७ कै प्रथम चिनिया चन्द्र महिनाको छेपा १९ तिथिका दिन २८ जनवरी २०१८ मा आरम्भ भएको छ र सन् २०१८ को फेवररी १६ को दिनमा यो लिचुन सकिने छ । यहिकारणले यसपालीको परम्परागत चिनिया नयाँवर्ष फेवररी १६ मा पर्न गएको छ ।

    यसैकारण चिनको चाइना ग्लोबल नेटवर्क टेलिभिजनको वेबसाइटमा यो विशेष पर्व भएको बारेमा खुलास गरिएको छ ।

    नेपालमा सोनाम ल्होछारः तामाङ समुदायको प्राचीनकालदेखि मान्दै मनाउँदै आएको सोनाम ल्होछार अर्थात् नयाँवर्ष फेरिने दिन उत्सव तथा पर्व पनि हो । यसपाली तामाङ प्रथम चन्द्र महिनाको प्रथम दिन ख्रेला छेपा गी (माघ शुक्लपक्ष प्रतिपदा) यसपाली माघ ४ गते नै नेपाल देसीय पञ्चाङग अनुसार परेपनि नेपाल तामाङ ग्हेदुङ केन्द्रिय कार्यालयबाट सोनाम ग्युर्मि लामाद्धारा सम्पादित भित्तेपात्रोमा चिनियाहरुको पञ्चाङग दुरुस्तै भएकोले सो पात्रो अनुसार पनि फेवररी १६ सन २०१८ का दिन ल्होछार परेकाले सदिऔंदेखि माघ शुक्लपक्ष प्रतिपदाका तिथिमा ठ्याक्कै पर्नुपर्ने दिन यसपाली फरक दिनमा परेकाले पनि उक्त सोनामग्यरर्मि तामाङले सम्पादन गरेका पात्रोको कारण तामाङहरु एउटै पर्वमा पनि विभाजित हुन पुगका छन् । तामाङ समाज आफ्नो परम्परादेखिको पर्व मनाउन यसपाली नराम्ररी विभाजित हुन पुगेको छ ।

    तिब्बतमा सोनाम ल्होछारः यसपालीको नेपाल देसीय पञ्चाङग पात्रोहरुमा झैं तिब्बतीय पञ्चाङगमा पनि सोनाम ल्होछार तिब्बती बाह्रौ महिनाको प्रथम दिन नै परेको छ । अर्थात् तिब्बती दावाच्युङी÷ग्याल्दा मै परेको छ । यसरी नै तिब्बतको पुराङ, स्याङस्युङ आदि स्थानहरुमा तथा नेपालकै रसुवा तथा सिन्धपाल्चोक आदिमा रहेकाहरुले पनि सोनाम ल्होसार माघ ४ गते नै मनाउने भएका छन् ।

    ग्याल्बो ल्होछारः यसपाली तिब्बत तथा नेपाल देसीय पञ्चाङहरुमा कुनै प्रकारको अधिकमासहरु नपरेकाले तिब्बतीहरुले तामाङ सोनाम ल्होछार भन्दा एक महिना पछाडी मनाउने गरेको तिब्बती ल्होछार तथा नेपालमा शेर्पा समुदायले मानिआएको ग्याल्बो ल्होछारको तिथि र मिति साबिक झैं नै फाल्गुन शुक्लपक्ष प्रतिपदाको दिन तदनुसार फागुन ४ गने परेको छ । उनीहरुले यसपालीको ग्याल्बो ल्होछार काडमाण्डौको टुँडीखेलमा भव्य कार्यक्रमकाबीच मनाउने तयारी रहेको छ । यसरी नै तामाङ बौद्ध महासंघले पनि ग्याल्बो ल्होछार मान्ने तामाङहरुलाई फागुन ४ तिब्बती प्रथम चन्द्र महिनाको प्रथम दिन ग्याल्बो ल्होछार मनाउन आव्हान गरेका छन् ।

    यसरी नेपालमा ल्होछार मनाउने समुदायहरुले एउटै प्रकृति र मूलका ल्होछार पर्व आफ्नै मौलिक नेपाल देसीय पञ्चाङग बनाउने असली पण्डितहरुको अभावम चिनको चिनिया, तिब्बतीको तिब्बती नाक्ची तथा कार्ची लगायत विभिन्न परम्परा मिसिएको तथा भारतीय कालचक्र परम्परा अनुसारको खुनु आदि विभिन्न पण्डितहरुले प्रकाशित गरेका पात्रो कतिपय त अनधिकृत र अनआधिकारिक रुपमा पात्रो आफूखुशि प्रकाशन गरी ल्होछार पर्वको तिथिहरु तोकिदा ल्होछार मान्दै आएका जनसमुदायहरु अन्यौलमा पर्नु अस्वभाविक होइन । तसर्थ सरकारले नेपालमा रहने सबै ल्होछार पर्व मानिआएका जनसुमुदायहरुको पनि राज्यबाट अध्ययन अनुसन्धान गरी कुल परम्परा त्यो समुदायले चाहेको हो त्यो नेपाल देसीय मानक–समयका आधारमा कसरी ति मौलिक पर्वहरुको पहिचान गर्नुपर्ने वस्तु परिस्थितिको आवश्यकता सृजना भएकोले सबै समुदायहरुले पनि पहल गर्नुपर्यो र सरकारले यथासिघ्र व्यवस्थापन नगरे समुदायमा विभाजन हुने तथा तिथि मितिहरु नमिल्दा पर्वहरुको बिदा व्यवस्थापन, पर्व उत्सव मनाउन कठिन परिस्थिती जन्मनेछ । तसर्थ सिघ्र सरकारको ल्होछार पर्व व्यवस्थापनमा ध्यानाकर्षण समेत गर्दछु ।

    लेखकः नेपाल तामाङ घेदुङ, उपाध्यक्ष तथा लुम्बिनी विकास कोषका पूर्व सदस्य–सचिव हुन् ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP