logo

  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • Dark Mode

          Subscribe

    ईश्वरवाद, भौतिकवाद र समन्वयवाद

    ईश्वरवाद, भौतिकवाद र समन्वयवाद

    ईश्वरवादी विचारले भन्दछ कि यो ब्रह्माण्ड एउटा मूल चेतनाको उपज हो । चेतनालाई ईश्वर भनेर भनिन्छ । ईश्वरले जे होस् भनेर कल्पना गर्छन् त्यो उत्पन्न हन्छ, जे नहाेस् भनेर कल्पना गर्छन् त्यो नष्ट हुन्छ । यहाँ जे जति जड पदार्थ छन्, दृश्यमय भौतिक वस्तुहरू छन् जति भौतिक पद्धतिहरू छन् ती सवै त्यो ईश्वरको कल्पनाका उपज हुन् । उसैको मायाका उपज हुन् । यी उसका लीला हुन् । यिनको कुनै स्वतन्त्र अस्तित्व हुँदैन । यी ईश्वरको अनुग्रहमा आश्रित छन् ।

    पछि गएर समन्वयवादी धार वैदिक दार्शनिक परम्पराको मूल प्रवाह बनिसक्दा पनि यो ईश्वरवादी धार आफैँमा एक्लै एउटा सशक्त धारका रूपमा विद्यमान रह्यो । यही नै भक्तिमार्गको धार बनेर आजसम्म आइरहेको छ, र भविष्यमा पनि यसले आफ्नो स्थान बनाइराख्ने देखिन्छ ।

    वैदिक दर्शनको ईश्वरवादी धारले ईश्वरलाई अनाश्रित र जीवलाई ईश्वरमा आश्रित मान्छ । ईश्वरको अनुग्रहबाट मात्र जीवको मुक्ति सम्भव हुने मान्दछ । यसले ईश्वरप्रतिको भक्ति, विश्वास र समर्पणलाई मानव मुक्तिको प्रधान उपाय हो भनेर मान्दछ ।

    भाैतिकवाद

    भौतिकवादी विचारले भन्दछ कि यो ब्रह्माण्डको मूलतत्त्व अचेतन भौतिक पदार्थ हो । भौतिक पदार्थमात्र अजर अमर सत्य हो । चेतना त भौतिक पदार्थहरूको खास सङ्गटनको उपजमात्र हो । भौतिक पदार्थहरू खास प्रकारले मिल्न जाँदा त्यो अचेतनको सङ्गठित रूप चेतन जस्ताे प्रतीत हन्छ । चेतनाको एक्लै वा आफैँमा कुनै स्वतन्त्र अस्तित्व भएको मानिदैन, साथै आधारभूत भौतिक वस्तु चेतनामय भएको मानिदैँन । पदार्थको आधारभूत तहमै चेतनाको अलग्ग अस्तित्व नमान्ने हुनाले भौतिकवादलाई अनीश्वरवाद भनेर पनि भनिन्छ । यो पन्थ नै आजको समसामयिक विश्वमा स्थापित भएको भौतिकवादसँग मिल्दो देखिन्छ ।

    चार्वाक र वार्षगण्यलाई भौतिकवादी विचारधाराका मूल प्रणेताहरू मानिन्छ । वार्षगण्यका अनुसार सृष्टिकाे सर्ग (जन्म)मा प्रधान (प्रकति) तत्त्वको प्रवृत्ति चेतना-निरपेक्ष हुन्छ । प्रधानले आफ्नो प्रवृत्तिका लागि पुरुष (चेतना) को अनुग्रहको कनै अपेक्षा गर्दैन । त्यसैले, प्रधान सृष्टिको आदिसर्गदेखि नै सर्वथा स्वतन्त्र छ । जसरी पानको पात र सुपारीको धूलो मिलेर राग उब्जन्छ त्यसरी चेतनाशून्य घटक तत्वकाे परस्पर संयोगबाट चेतना उत्पन्न हुन्छ ।

    कतिपय वैदिक विचारहरूले चार्वाक माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्ह गरेर ६ वटा दर्शनलाई ईश्वरकाे अस्तित्व स्वीकार नगर्ने भएकाले अनीश्वरवादी दर्शन मानेको देखिन्छ । तिनलाई वेदबाह्य भनेको देखिन्छ । यी सवैमध्येका प्रसिद्ध चार्वाक दर्शनको भाैतिकावादी धारणा नितान्त स्पष्ट लाग्छ । “यावज्जीवेत सुखं जीवेद ऋणं कृत्वा घृतं पिवेत, भष्मी भुतष्य देहष्य पुनरागमनं कुत: अर्थात जबसम्म जीवित रहिन्छ सुखसँग जिउनुपर्छ । ऋण लिएर पनि घ्यू पिउनु पर्छ (मोजमा जीउनु पर्छ); आखिर जलाएर खरानी पारेको शरीर फर्केर कहाँ आउँछ र !” भन्ने भनाई चार्वाकको भएको भनिएको छ । यो भनाइले शरीरका अतिरिक्त आत्माको कुनै स्वतन्त्र अस्तित्व नमान्ने तथा पुनर्जन्म र स्वर्ग-नर्कको अवधारणा नमाने उनीहरूको धारणा रहेको देखाउँछ । यो चार्वाक दर्शन एक भौतिकवादी दर्शन हो । यसमा प्रत्यक्ष प्रमाणलाई मानिन्छ, तर पारलौकिक सत्तालाई स्वीकार गरिदैन । बौद्ध दर्शन पनि अनीश्वरवादी दर्शन हो र पनि यसले मानिस मरेपछि पनि उसले गरेका कर्म सञ्चित रहन्छन् भनेर मान्छ, जुन भौतिकावादी नभएर अध्यात्मवादी विचार हो ।

    चार्वाक विचारधारालाई हाल पश्चिममा विकास हुन पुगेको भौतिकवादी विचारको आदिप्रवतेक मान्न सकिन्छ । त्यो हँदाहँदै पनि ईश्वरवादी पकड बलियो बन्दै गएपछि यसको स्वतन्त्र र निरन्तर विकास लामो समयसम्म टिक्न नसकेको देखिन्छ । भौतिकवादी र ईश्वरवादी धारकाे संघर्षबाट जन्मेको जन समन्वयवादी धार थियो, त्यसबाट निस्केका साङ्ख्य-धार र याेग-धार मध्येकाे साङ्ख्य-धार नै यसका अनुयायीहरूको मार्ग बनेको देखिन्छ । शायद, साङ्ख्य-धारले ईश्वरवाद या अनीश्वरवादलाई नभएर प्रमाण र प्रामाणिकतालाई महत्व दिएकाे हुनाले त्याेसँग भाैतिकवादीहरू मिल्न पुगेका हुन सक्छन् । तर त्याे भन्दा पनि महत्वपूर्ण कुरा के हुन सक्छ भने मानिसलाई भौतिक सम्पन्नताले नभएर ज्ञानले मात्र मुक्ति दिलाउन सक्छ भन्ने मान्यतासँग भौतिकवादीहरूको बहुसङ्ख्या पनि सहमत भएको हुनाले बहुसङ्ख्यक भौतिकवादीहरू साङ्ख्य र योगको धारमा विलय भएका हुन सक्छन् या भौतिकवादीहरूमाथि दमन भएको हुन सक्छ । यो खोजको विषय हो ।

    समन्वयवाद

    वैदिक दर्शनको दार्शनिक मूलधार समन्वयवादी धार हो, यद्यपि व्यावहारिक धारहरू अनेकौं छन् । यसले प्रकृति (पदार्थ) र पुरुष (चेतना) दुवैलाई अनादि र अनन्त मान्छ । यसले भन्छ, प्रकृति र पुरुष दुईवटै अस्तित्ववान हन् र सृष्टिको कुनै पनि कार्य दुवैको मैथुन वा परस्पर सहयोगका कारणमात्र सम्भव हुन्छ । कुनै एकको अभावमा अर्को एक्लैबाट सृष्टि असम्भव छ ।

    वेदको समयमा नै यो प्रकृति र पुरुष दुवैको नित्यतालाई स्वीकारिएको देखिन्छ । यो नै वैदिक चिन्तन परम्पराको मूलधार बनेको देखिन्छ । यो प्रकृति र पुरुष दुवैलाई अनादि माने मध्यस्थ धार पनि सत्यको खोज कसरी गर्ने भन्नेबारेमा प्रक्रियागत हिसाबले दुई विपरीत ध्रुवहरूमा बाँडिन गयो ।

    पहिलो समन्वयवादी धारले विभक्तीकरणलाई सत्य निरुपणको प्रधान साधन बनायो र यो साङ्ख्यमार्गका नाममा प्रसिद्ध भयो । उसले पदार्थको अविभाज्य टुक्रा परमाण पत्ता लगायो । परमाणुमा पनि एकैसाथ प्रकृति र पुरुष दुवैको अस्तित्व हुने निष्कर्ष निकाल्यो । दोस्रोले एकीकरणलाई सत्य निरूपणको प्रधान साधन बनायो । उसले सारा ब्रह्माण्ड नै एक विराट आत्मा भएको पत्ता लगायो । आत्मा परमात्मामा एकाकार देख्ने यो योगमार्गका नामले प्रसिद्ध भयो ।

    वैदिक समयका विचारहरूमध्ये चार्वाक धार भौतिकवादी धार थियो । भक्ति ईश्वरवादी धार थियाे । योग र साङ्ग्य समन्वयवादी धार थिए । यीमध्ये भक्ति, योग र साङ्ख्यलाई पौराणिक साहित्यमा वैदिक धार मानेको देखिन्छ भने चार्वाकलाई अवैदिक मानेको देखिन्छ । पछि कुनै कालखण्डमा भक्तिमार्गीहरूले साङ्ख्यमार्गलाई नास्तिक, अनीश्वरवादी र आफूभन्दा तल्लो कोटीको ठानेको भेटिन्छ, जुन न तथ्यपरक छ, न न्यायपरक नै । पूर्वीय दर्शनको पुनर्व्याख्या पुस्तकबाट



    डा. प्रमाेद ढकाल डा. प्रमाेद ढकाल




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP