एजेन्सी । भारतीय जनता पार्टीकी रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छन् । ५० वर्षीया गुप्ताले बिहीबार दिल्लीको रामलिला मैदानमा ९ औँ मुख्यमन्त्रीको शपथ लिइन् ।
विधानसभाको ७० सिटमध्ये ४८ सिटमा विजय हासिल गर्दै भारतको सत्तारूढ दल दिल्ली विधानसभामा २७ वर्षपछि सरकार बनाएको हो।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य अरू नेताहरू पनि उपस्थित थिए।
मुख्यमन्त्री गुप्तासहित प्रवेश वर्मा, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशीष सूद, कपिल मिश्रा र कम्पसकुमार सिंहले मन्त्रीको शपथ लिएका छन्।
प्रवेश वर्माले नयाँ दिल्ली सिटमा पूर्व मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई पराजित गरेका थिए।
उनले केजरीवाललाई पराजित गरेपछि मुख्यमन्त्री पनि उनी नै बन्ने चर्चा चलेको थियो। भाजपामाथि परिवारवाद प्रश्रय दिएको भनेर आलोचना भइराख्छ। प्रवेशका बुवा दिल्लीका पूर्वमुख्यमन्त्री हुन्। उनी भाजपाका शीर्षस्थमध्येका एक नेता पनि हुन्। प्रवेशलाई मुख्यमन्त्री बनाउँदा विपक्षीहरूले आलोचना गर्ने बाटो पाउँछन् भनेर यसापलि भाजपाले रेखालाई मुख्यमन्त्री बनाएको बिबिसीले उल्लेख गरेको छ।
गुप्ता राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अखिल भारतीय विद्यार्थी परिषद् (एबिवीपी) दुवै पृष्ठभूमिका हुन्। त्यसले पनि उनी मुख्यमन्त्री दाबी बढाएको भनिएको छ।
योसँगै केन्द्रीय राजधानी रहेको दिल्लीमा भाजपाले २७ वर्षपछि सरकार बनाएको छ। भाजपाले यसअघि सन् १९९३ मा अत्यधिक बहुमतको सरकार बनाएको थियो।
प्रतिक्रिया