logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    रामायणकालीन अर्थव्यवस्था

    रामायणकालीन अर्थव्यवस्था

    रामायण सबैभन्दा पुरानो महाकाव्य मात्र होइन, आर्थिक, राजनीतिक र सामाजिक नियमको मार्यादा स्थापित गर्ने अभिलेखसमेत मानिन्छ । संस्कृतका आदिकविका रूपमा रहेका ऋषि वाल्मीकिद्वारा रचित वाल्मीकि रामायणको रचना त्रेतायुगमा भएको मानिन्छ । वर्तमान शोध अनुसन्धानको दृष्टिले त्यो कालगणना मेल खाँदैन । आधुनिक पद्धतिअनुसार काल गणना गर्ने विद्वान्हरूका अनुसार रामायण महाकाव्यको समय ५०० वि.पू. हुनसक्छ ।

    रामायणमा आर्थिक र राजनीतिक विशेषज्ञहरूको नियुक्ति गर्दा अर्थशास्त्र र दण्डनीतिको ज्ञातालाई विशेषज्ञ स्थापित गर्नु भन्ने निर्देश दिइएको छ । किष्किन्धाकाण्डमा हनुमानलाई दण्डनीतिको ज्ञाता बताइएको छ । रामायणको अयोध्याकाण्ड आर्थिक र राजनीतिक विवरणमा केन्द्रित छ । राष्ट्रको समृद्धि र लोककल्याणको स्पष्ट अवधारणा व्यक्त गर्नुका साथै राजकीय कोष, त्यसको सञ्चालन र राजकीय आयव्ययको नियमित सुपरिवेक्षणको सुपरिभाषित व्यवस्थाले रामायणकालीन अर्थव्यवस्थाको जानकारी प्राप्त हुन्छ । यस लेखमा रामायणकालीन आर्थिक व्यवस्थाको चर्चा गरिएको छ ।

    कृषि र पशुपालन 
    रामायणकालीन अर्थव्यवस्था कृषि प्रधान थियो । कृषि र गोरक्षा अर्थव्यवस्थाको आधार थियो । यसलाई जीविका बनाउने वर्गका सुविधाको राज्यले विशेष ध्यान राख्थ्यो । कृषि र पशुपालन पेशालाई सम्मानका दृष्टिले हेरिन्थ्यो । उनीहरूलाई केही विशिष्ट कानूनी अधिकारसमेत प्राप्त थिए । कृषि कार्यमा व्यस्त मानिसलाई अपर्झट दरबारमा बोलाउन पाइँदैनथ्यो । रामको राज्यकालभन्दा पहिले अयोध्यामा अनिकाल परेको उल्लेख छ, तर रामराज्यमा अनिकाल र भोकमरीको उल्लेख पाइँदैन । यसको अर्थ के हो भने सो अवधि उच्च कृषि उत्पादनको समय थियो । कृषि उत्पादन उच्चतम थियो । जमीनको उर्वराशक्तिको भरपूर उपयोग गरिन्थ्यो । उचित दण्डनीति भएको देशमा कृषि उत्पादन राम्रो हुन्छ भन्ने पूर्वीय मान्यता रहिआएको छ ।

    समयमा उचित वर्षा हुन्थ्यो । यो खेतीका लागि स्वाभाविक रूपमा लाभदायक समय पनि हो र थियो । सिँचाइको सबभन्दा मुख्य साधन प्राकृतिक साधन थियो तर यसबाहेक मानिसहरूले पनि सिँचाइका साधन निर्माण गरेको रामायणमा पाइन्छ । उन्नत खेती गर्ने जमीनलाई केदार भनिन्थ्यो । यो विशेष गरी सिँचाइयोग्य जमीन हुन्थ्यो । यस्तो जमीनको सरसफाइ गरेपछि राम्ररी जोतेर बाली लगाइन्थ्यो ।

    खेतीका लागि हलो, फरूवा, कोदालो, कुटो, फाली, शूल, टङ्कजस्ता उपकरण प्रयोग गरिन्थ्यो । वैदिक प्रणालीको तुलनामा रामायणकालीन खेती अझ उन्नत भएको थियो ।

    पशुपालनबाट दुग्ध पदार्थको उत्पादन हुन्थ्यो भने हात्तीको दाँत र छालाको व्यवसाय हुने गथ्र्यो । वन सम्पदा मानवीय उपयोगमा प्रयोग गरिन्थ्यो । कृषि जस्तै स्वतन्त्र रूपमा गोपालन र गोवंश वृद्धिको पेशा फस्टाएको थियो । यसबाहेक हात्ती र घोडाका नश्ल सुधार र उत्पादनको पेशा पनि सुविकसित थियो ।

    उद्योग र व्यापार
    रामायणकालमा फलाम, तामा, पित्तल, काँस, सुन, चाँदी, सीसा र टिनजस्ता खनिज पदार्थको उत्पादन हुने गरेको उल्लेख पाइन्छ । धातुले बनेका वस्तुहरू दैनिक जीवनमा प्रयोग हुने गथ्र्यो । वस्त्र उद्योग पनि सञ्चालनमा थियो । लाक्षाराग (रातोरङ्ग) वा फूलको रसले कपडा रङ्गाइ हुने गर्थ्यो ।

    त्यस समयमा आन्तरिक मात्र होइन, वैदेशिक व्यापार पनि फस्टाएको थियो । सामुद्रिक व्यापार पनि हुने गरेको प्रमाण पाइन्छ । त्यस समयमा सुनचाँदी, गरगहना, हीरामोती, मणि, हात्ती, कुकुर, चामल, खुर्सानी, रेशमको कपडा, लाखजस्ता वस्तु विदेश निर्यात गरिन्थे । काम्बोज आदि देशबाट घोडा, ऊनी वस्त्र, रेशम, कस्तुरी, चौंरीका रौं आदि आयात गरिन्थ्यो । विनिमयको मुख्य साधन गाई हुने गथ्र्यो । निष्क नाम गरेको मुद्रा पनि प्रचलित थियो । रामायणमा लगभग ८० प्रकारका विभिन्न सानाठूला उद्योगको रहेको विवरण पाइन्छ ।

    यातायात
    रामराज्यका समयमा थल, जल र आकाश तीन प्रकारका यातायातको उल्लेख भएको पाइन्छ । पैदलबाहेक रथ, शिबिका, यान, पशु, डुङ्गा र विमान यातायातका साधन थिए ।

    पोषण, स्वास्थ्य र मनोरञ्जन
    मानिसहरूको मुख्य भोजनमा गहुँ र चामलका परिकार थियो । त्यसमा दूध, दही, घिउ, मोही, कुराउनी आहारमा समावेश थियो । खीर, ढकनी, मोदक (चामलको लड्डु) मालपुआ र कृशर (खिचडी)को आहार प्रचलित थियो । मांसाहारको तुलनामा शाकहारलाई श्रेष्ठ आहार मानिन्थ्यो । विशेष अवसरहरूमा जस्तै सामूहिक यज्ञ र राजकीय उत्सवहरूमा सामूहिक भोजन हुने गर्थ्यो । त्यसबखत पाकविद्याका विशेषज्ञ हुने गर्थे ।

    नगर ग्रामीण मानिसहरूको जीवन प्रत्याशा उच्च थियो । बालमृत्यु र मातृमृत्यु दर थिएन । मानिसहरू स्वस्थ, प्रसन्न र धनधान्यले सम्पन्न थिए । रामायणकालमा वृद्धले बालकको अन्त्येष्टि गर्नु पर्दैनथ्यो भन्ने उल्लेखले त्यसबेलाको स्वास्थ्यमा हुने गरेकोे उपलब्धिको जानकारी प्राप्त हुन्छ ।

    स्त्री र पुरूष दुवैले दुई वस्त्र लगाउँथे । माथिको कपडालाई उत्तरीय र तलको वस्त्रलाई अधोवस्त्र भनिएको छ । सेवकहरूले फेटा बाँध्ने गर्थे र राजवर्गले मुकुट लगाउँथे । पुरूष र महिला दुवैले गहना लगाउँथे । फूल र मालाको प्रयोग पनि दिनहुँ गरिन्थ्यो । सुगन्धका लागि चन्दनको प्रयोग गरिन्थ्यो ।

    पशु, पक्षी, द्यूत, कौडी, सङ्गीत, नृत्य, नाटक उद्यान, विहार, मृगया, भकुण्डो खेल, जल विहार, कुस्ती, व्यायाम आदि आमोद प्रमोदका साधन थिए ।

    शिक्षा, साहित्य र कला
    वाल्मीकिको रामायण र योगवाशिष्ठमा त्यसबेलाको साहित्य र कलाको विवरण पाइन्छ । योगवाशिष्ठ महाभारत जस्तै विशाल ग्रन्थ हो । यसमा वशिष्ठले रामलाई दिएको उपदेश छ । यसलाई दर्शनको विशिष्ट साहित्य भनिन्छ । ऋषिहरूका आश्रम पनि त्यसबेला महŒवपूर्ण स्थल थिए जहाँ यज्ञकार्य हुने गर्थ्यो । ती स्थलहरू शहरभन्दा टाढा, वनमा हुन्थे । ती सबै स्वायत्तशासी थिए । राजकीय हस्तक्षेप हुँदैनथ्यो । त्यस्ता स्थलमा विद्यार्थीहरूको पठनपाठन हुन्थ्यो । आश्रमको अधिष्ठाता ऋषिलाई कुलपति भनिन्थ्यो ।

    गुरुकुलमा ब्रह्मचर्य अवस्थामा नै राजपरिवारका बालकहरूलाई हात्ती, घोडाको सवारी, रथ चलाउनु, धनुर्वेद, अस्त्रशस्त्र सञ्चालन, आखेट, युद्ध अभियान, सैन्य सञ्चालन, राजनीति,संगीतको शिक्षा दिइन्थ्यो । सुधन्वाले रामलाई सैन्यशिक्षा र सुयज्ञले वैदिक शिक्षा दिएको भनिएको छ ।

    समानता र समावेशिता
    त्यति बेला पनि समानता, समावेशिता र जनमतका आधारभूत सिद्धान्तहरू ध्यानमा राखिन्थ्यो भन्ने कुरा रामायणको अध्ययनबाट स्पष्ट हुन्छ । रामलाई युवराज घोषणा गर्नुअघि राजा दशरथले लोकसम्मत राजाहरूको अनुमति लिएको विवरण रामायणमा पाइन्छ । राजपरम्परा वंशमा आधारित भए तापनि तीन विषयलाई आधार बनाउनुपर्ने कुरा रामायणमा उल्लेख छ– (क) ज्येष्ठ पुत्र, (ख) शारीरिक तथा मानसिक रूपमा योग्य, (ग) प्रजाद्वारा स्वीकृत रामलाई वनवासको घोषणा भएपछि कोशल नरेशको राजसिंहासन केही समय रिक्त भयो । दशरथको मृत्यु भएको अवस्थामा राजपुरोहित वशिष्ठले त्यस सम्बन्धमा निम्न निर्णय गरेका पाइन्छ, ‘रामलाई वनवास भएको अवस्थामा सीतालाई राजसिंहासनमा बसाल्नुपर्छ । पति अद्र्धांगिनी भएको नाताले पतिको अनुपस्थितिमा पत्नीले पतिले सम्भाली आएका सबै काम सम्पादन गर्न सक्छन् ।’ यस भनाइले त्यस समयमा महिलालाई राजसिंहासनमा बस्ने अधिकार भएको स्पष्ट हुन्छ ।

    राजकीय कोष
    रामायणकालमा आइपुग्दासम्म स्वामी, अमात्य, जनपद, कोष, पुर, दण्ड, सेना र मित्र गरी राज्यका सात अङ्ग स्थापित भइसकेका थिए ।

    वाल्मीकि रामायणका अनुसार मन्त्रीगण राजकीय कोषलाई समृद्ध बनाउन सतर्क रहन्थे । तर, उनीहरूले कर सङ्कलन गर्दा ब्राह्मण र क्षत्रिय वर्णलाई कष्ट नपु¥याईकन कोष वृद्धि गर्दथे । दशरथको मन्त्रीमण्डलमा दुईजना मन्त्री थिए सिद्धार्थ र अर्थ साधन । उनीहरूले राज्यको आयव्यय विभागको निरीक्षण गर्दथे । राजकीय आयको मुख्य स्रोत भनेको बलिभाग थियो । जसलाई षड्भाग पनि भनिन्छ । कृषिलगायतका विभिन्न आर्थिक क्षेत्रको उत्पादनको ६ भागको एक भाग (लगभग १७ प्रतिशत) राज्यलाई बुझाउने नियमलाई नै षड्भाग वा बलिभाग भनिन्छ । यो मनुस्मृतिको समयदेखि चलिआएको परम्परा हो । यसलाई रामायणकालीन अर्थव्यवस्थामा स्वीकार गरिएको मात्र हो । रामायणकालमा राजाले आय बढाउनका निम्ति मात्र छुट्टै कुनै कर लगाएको विवरण पाइँदैन । कर असुल गर्दा कठोरताको व्यवहार गरिँदैनथ्यो ।

    रामायण उत्तरकाण्डमा के भनिएको छ भने राजाले कर लगाउँदा प्रजाले थाहा नपाउने गरी यस्तो कर सङ्कलन गर्नुपर्छ । अर्को शब्दमा अप्रत्यक्ष कर मात्र लिने सल्लाह दिइएको छ । कालिदासले रामायणकालीन करारोपणको आधारलाई रघुवंश ग्रन्थमा यस प्रकार व्यक्त गरेका छन्, ‘सूर्यले समुद्रको पानी सोसेर लिएजस्तै प्रजाले थाहा नपाउने गरी कर सङ्कलन गर्नुपर्छ । यसरी प्राप्त कर सूर्यले सोसेर एक थोपाको सहस्र थोपा बनाएर पृथ्वीलाई फर्काएजस्तै प्रजाबाट लिइएको धन प्रजाको हितमा नै खर्च गर्नुपर्छ ।’

    राजकीय आयको अर्को स्रोत अधीनस्थ राजाहरूबाट प्राप्त हुने उपहार कर थियो । अधीनस्थ राजाहरूले श्रीरामलाई हात्ती, चन्दन, आभूषण, मणि, मोती, मुगा, दासी, भेडा, बाख्रा,, रथहरू उपहार दिएको वर्णन पाइन्छ । तीन प्रकारका राजाहरूले अयोध्याका राजालाई उपहार दिएको वर्णन छ, ‘केवल (राज्य नगर्ने), अपरान्त (टाढा देशका राजा), र सामुद्र  (समुद्रपारिका शासक) । राज्यको धन देवता, पितर, ब्राह्मण, अभ्यागत, योद्धा, र मित्रका लागि खर्च गरिन्थ्यो ।’

    गाउँ र नगरको अवस्था
    रामायणकालीन शहरहरूलाई स्थापत्यकलाको सुन्दर उदाहरण मानिएको छ । जनकपुर, अयोध्या, किष्किन्धा, लङ्का, लक्षशिला, पुष्कलावती, मधुपुरी विशेष सुुन्दर शहर मानिएका छन् । नगर निर्माण गर्न नदीको छेउ उपयुक्त मानिएको छ । ठाउँठाउँमा फूलबारी, पोखरी निर्माण गरिएका हुन्थे । राजधानी नगरबाट चारैतिर सडकहरू जाने बनाइएका थिए । कृषि कार्य गर्नेहरूको बस्तीलाई ग्राम र पशुपालन गर्नेहरूको बस्तीलाई घोष भनिएको छ । उनीहरूको निवास स्थललाई ग्राम संवास भनिएको छ । ठूलाठूला गाउँलाई महाग्राम र धेरै गाउँबस्तीलाई जनपद भनिएको छ ।

    उपसंहार
    रामराज्यको वर्णन गर्दै भनिएको छ, सर्पादि दुष्टजन्तुको भय थिएन । शान्तिसुरक्षाले गर्दा मानिस भयरहित अवस्थामा सुखपूर्वक जीवनयापन गर्थे । मानिसहरू सच्चरित्र, निरोगी र पूर्णायु थिए । उनीहरू दीर्घजीवी र पुत्रपौत्रादि सम्पन्न थिए । मानिसहरू स्वस्थ र हृष्टपुष्ट थिए । वृक्षहरू पनि स्वस्थ र फलफूलले भरिएका हुन्थे । समयमा पानी पथ्र्यो । कृषि उत्पादन राम्रो हुन्थ्यो । यस सुव्यवस्थित आर्थिक अवस्थाका कारण समाजमा धनको समुचित वितरण हुनु र आर्थिक असमानता नहुनु थियो । यसका लागि तात्कालिक समयको आश्रम र वर्णको परम्परा अत्यन्त सहायक छ भनी रामायणकारले स्वीकार गरेका छन् । सङ्क्षेपमा त्यो एक अनुकरणीय लोककल्याणकारी राज्य थियो ।

    लेखक बुटवल बहुमुखी क्याम्पसका  अर्थशास्त्रका प्राध्यापक हुन् ।

    आर्थिक अभियानबाट लिएको ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP