logo

  • २ असार २०८३, मंगलवार | Tue, 16 Jun 2026
  • Dark Mode

          Subscribe

    श्रीमद्भागवत गीता र शिक्षा

    श्रीमद्भागवत गीता र शिक्षा

    सुमित्रा कार्की

    श्रीमद्भागवत गीता हिन्दु धर्मावलम्बीहरुको एक पवित्र धार्मिक ग्रन्थ हो।भागवत गीता अनुमान आज भन्दा लगभग ५००० वर्ष अगाडि महर्षि ‘वेदव्यास ‘ द्रारा रचित प्रसिद्ध ग्रन्थ हो । भागवत गीता ब्रह् विद्याको स्वरुप हो।श्रीमद्भागवत गीतामा १८ अध्याय छन भने ७०० सौ पद्यात्मक संस्कृत श्लोक रहेका छ्न्। यो ऐतिहासिक हिन्दु ग्रन्थ हो। हिन्दु धर्मका चारवटा वेद – ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो। उपनिषद्बाट नै १८ पुराण बनेका हुन्। श्रीमद्भागवत गीता पूर्ण शास्त्र हो, वेद र उपनिषदहरुको सार हो। यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ। स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ। वेदको सार सङ्ग्रहका रुपमा पनि भागवत गीतालाई लिने गरिन्छ। गीताका प्रत्येक श्लोक, प्रत्येक पाद्, प्रत्येक सुत्रमा सदृश, अन्नत, भाव प्रकाशक छन्। त्यसैले श्रीमद्भागवत गीतालाई सर्वतोमुखि मानिन्छ।

    श्रीमद्भागवत गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। महाभारत कालमा पाण्डवहरुको भक्तिको बलमा भागवत कृपा प्राप्त गरि पृथ्वीमा धर्मराज्य स्थापना गरेका थिए। त्यसै किसिमबाट भगवत्कृपा प्राप्त गरि आफ्नो शरीरमा पनि “असप्त्नं ऋद्वं राज्य” अर्थात आत्मराज्य स्थापना गर्न सकिन्छ। भागवत गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ – “गीताज्ञानं समाश्रित्य त्रिलोकि पालयाम्यहं” अर्थात गीतामा भगवानको अमृत वचन छ। गीताको व्यवहार जसले जुन भावले गर्दछ, उसले त्यसै अनुसार यसबाट आफ्नो अनुकूल फल पाउँछ। गीता त्यो सर्वोत्तम ग्रन्थ हो, जसले जीवन दर्शनको गहन अर्थ दिन्छ। कतिले भन्ने गर्छन् “श्रीमद्भागवत गीता नपढि जीवन र जगतलाई बुझिँदैन”। यो पौराणिक ग्रन्थमा जीवनको सार छ। खासगरी महाभारत युद्धमा अर्जुन र उनका सारथि कृष्णबीच भएको संवादमा आधारित छ गीता। गीतामा ज्ञानयोग, कर्मयोग, भक्तियोग, राजयोग, एकेश्वरवाद आदिको कुराको चर्चा गरिएको छ। यसमा रहेका १८ अध्याय जसले हाम्रो जीवनसंग जोडिएको हरेक प्रश्नको जवाफ दिन्छ। भागवत गीता भगवान् श्रीकृष्णले अर्जुनलाई सिकाउनु भएको मूल्य उन्मुख शिक्षा पनि हो। भागवत गीतालाई तीन भागमा विभाजन गरिएको छ। दुई सय असी (२८०) श्लोक सतिहको प्रथमदेखि छैठौं अध्यायसम्म कर्ममार्ग, दुई सय नौ (२०९) श्लोक सहितको सातौंदेखि बाह्रौं अध्यायसम्ममा भक्तिमार्ग र  तेह्रौंदेखि आठारौं अध्यायसम्म दुई सय एघार (२११) श्लोकहरुले ज्ञानको मार्गलाई औंल्याएका छन्। जसले शिक्षाको आध्यात्मिक मूल्यसंग व्यत्तिगत आत्माको पहिचान स्थापित गर्दछ। श्रीमद्भागवत गीताका १८ अध्यायहरुलाई सङ्क्षेपमा वर्णन गर्दा:

        प्रथम अध्याय
    गीताको पहिलो अध्याय अर्जुन- विषाद योग रहेको छ। यसमा ४६ श्लोकद्धारा अर्जुनको मनस्थितिको वर्णन गरिएको छ। यसमा भनिएको छ कि कसरी अर्जुन आफन्तसंग युद्ध गर्न डराउँछ्न र उनलाई भगवान् श्रीकृष्णले कसरी सम्झाउनु हुन्छ।

        दोस्रो अध्याय
    गीताको दोस्रो अध्याय ‘सांख्य योग ‘ मा कुल ७२ श्लोक रहेका छन। यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, वृद्धियोग र आत्मको ज्ञान दिनुहुन्छ। यो अध्याय वास्तवमा पूरा गीताको सारांश हो। यसलाई एकदमै महत्त्वपुर्ण भाग मानिन्छ।

        तेस्रो अध्याय
    गीताको तेस्रो अध्याय कर्मयोग हो। यसमा ४३ श्लोक रहेका छन्। यसमा श्रीकृष्णले अर्जुनलाई सम्झाउनु हुन्छ कि परिणामको चिन्ता नगरी हामीले आफ्नो कर्म गर्नुपर्छ।

       चौथो अध्याय
    ज्ञान कर्म सन्यास योग गीताको चौथो अध्याय हो। जसमा ४२ श्लोक रहेका छन्। यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशला लागी गुरुको अत्याधिक महत्त्व बताउनु हुन्छ।

        पाँचौ अध्याय
    कर्म सन्यास योग गीताको पाँचौ अध्याय हो। जसमा २९ श्लोक रहेका छन्। यसमा अर्जुनले श्रीकृष्णसँग सोध्नु हुन्छ कि कर्मयोग र ज्ञानयोग मध्य कुन चाहिँ उनको लागि उत्तम छ तब श्रीकृष्णजीले भन्नू हुन्छ – दुवैको लक्ष्य एकै हो। तर, कर्मयोग अभिनयका लागि उत्कृष्ट हुन्छ।

        छैटौं अध्याय
    आत्मसंयम योग गीताको छैटौं अध्याय हो। जसमा ४७ श्लोक रहेका छ्न्। यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगको बारेमा बताउनु भएको छ। उहाँले बताउनु भएको छ कि कुन प्रकार मनमा भएको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ।

        सातौं अध्याय
    ज्ञानविज्ञान योग गीताको सातौं अध्याय हो। जसमा ३० श्लोक रहेका छन्। यसमा श्रीकृष्ण निरपेक्ष वास्तविकता र त्यसको भ्रामक उर्जा ‘माया’ को बारेमा अर्जुनलाई बताउनु हुन्छ।

       आठौं अध्याय
    गीताको आठौं  अध्याय अक्षरब्रम्हायोग हो, जसमा २८ श्लोक रहेका छन्। गीताको यो अध्यायमा स्वर्ग र नर्कको सिद्धान्त सामेल गरिएको छ। यसमा मृत्यु अघि व्यक्तिको सोच, अध्यात्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताएको छ।

         नवौं अध्याय
    राजविद्याराजगृहा योग गीताको नवौं अध्याय हो। जसमा ३४ श्लोक रहेका छन्। यसमा श्रीकृष्णले आन्तरिक उर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पूरा ब्रह्माण्ड नष्ट गर्छ भन्ने बताएको छ।

         दशौं अध्याय
    विभुति योग गीताको दशौं अध्याय हो, जसमा ४२ श्लोक रहेका छन्। यसमा श्रीकृष्णले अर्जुलाई भन्नुहुन्छ कि, कसरी सबै तत्त्व र आध्यात्मिक अस्थितत्त्वको अन्त्यको कारण बन्छ।

       एघारौं अध्याय
    विश्वरुपदर्शन योग गीताको एघारौं अध्याय हो,  जसमा ५५ श्लोक रहेका छन् । यश अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आफ्नो विश्वरुप धारणा गर्दछ।

       बाह्रौं अध्याय
    भक्तियोग गीताको बाह्रौं अध्याय हो, जसमा २० श्लोक रहेका छन् । यसका साथै उनले भक्तियोगको वर्णन अर्जुनलाई सुनाउनु हुन्छ।

       तेह्रौं अध्याय
    क्षेत्रक्षत्रज्ञ विभाग योग तेह्रौं अध्याय हो, यसमा ३५ श्लोक रहेका छन्। यसमा श्रीकृष्णले अर्जुनलाई क्षेत्रक्षत्रज्ञको ज्ञानको बारेमा तथा सत्त्व, रज र तम् गुणद्वारा राम्रो योनिमा जन्म लिने उपाय सिकाउनु भएको छ।

       चौधौं अध्याय
    गीताको चौधौं अध्याय गुणत्रयविभाग योग हो, यसमा २७ श्लोक रहेका छन्। यसमा कृष्णले सत्त्व, रज र तम् गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्त्य गतिको विस्तारपूर्वक वर्णन गर्नुहुन्छ। अन्त्यमा यी गुण पाउने उपाय र यसको फल पनि बताउनु हुन्छ।

      पन्ध्रौं अध्याय
    गीताको पन्ध्रौं अध्याय पुरुषाेत्तम योग हो, यसमा २० श्लोक रहेका छन्। यसमा भगवान् श्रीकृष्ण जी भन्नूहुन्छ कि दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानि पुरुष मेरो उपहास गर्छ।

       सोह्रौं अध्याय
    दैवासरसंपद्विभाग योग गीताको सोह्रौं अध्याय हो, जसमा २४ श्लोक रहेका छन्। यसमा श्रीकृष्ण स्वभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानि पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणको बारेमा बताउनु हुन्छ।

       सत्रौं अध्याय
    श्रद्धात्रयविभाग योग गीताको सत्रौं अध्याय हो, यसमा २८ श्लोक रहेका छन्। यसमा श्रीकृष्णले अर्जुनलाई भन्नू भएको छ कि शास्त्र विधिको ज्ञान नभएको कारणले शास्त्र विधि छाड्नुमा यज्ञ, पुजा आदि शुभ कार्य त श्रद्धापुर्वक गर्छ्न, त्यसको स्थिति के हुन्छ।

         अठारौं अध्याय
    मोक्ष- सन्यास योग गीताको अठारौं अध्याय हो, यसमा ७८ श्लोक रहेका छन्। यस अध्याय पछिल्लो सबै अध्यायको सारांश हो। यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात् ज्ञानयोग र त्याग अर्थात् फलासक्रिरहित कर्मयोगको तत्त्व जान्ने इच्छा प्रकट गर्नुहुन्छ।

    यसरी यी सबै ज्ञानलाई गीतामा भगवानले १८ अध्यायमा मनन् चिन्तन गराउनु भएको छ। तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्त्वपूर्ण धर्मको नियम स्वरुप हो। मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो। यसबाट मनुष्य आफ्नो बुद्धिको सिमाभन्दा परको अवस्थालाई  प्राप्त गर्छ त्यहीँ ज्ञानलाई औपनीषदिय ज्ञान भनिन्छ। त्यहीँ ज्ञानलाई सामान्य अर्थात् उपनिषदको कठिन अर्थलाई सामान्य रुपले दर्शाउन वेदव्यासले भागवत गीतामा चर्चा गर्नु भयो।

    भागवत गीताको सार:
    – किन व्यर्थ चिन्ता गर्छौं ?
    – को देखि व्यर्थ डराउछौँ ?तिमीलाई कसले मार्छ?
    – आत्मा न जन्म लिन्छ न मर्छ। जे भयो त्यो राम्रो भयो।
    – तिमी भुतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर।
    – तिमीले के पैदा गरेका थियौं र नाश भयो?
    – तिमीले केही लिएर आएका थिएनौं। जे पायौं, त्यहीँबाट पायौं। जति दियौं, यहीं नै दियौं। खाली हात आएका थियौं, खाली हात नै गयौं, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ।
    – तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौँ । यहीँ खुशी नै तिम्रो दु:खको मुल कारण हो।
    – परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ ,त्यहीँ जीवन हो
    – एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ।
    – मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेउ अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफैँ भगवानमा अर्पित हौ।
    – यहीँ नै सबैभन्दा ठूलो सहारा हो।
    – जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ। मान्छे जन्मिन्छ केही समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आशक्ति रहित भएर काम गर जसमे गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ।
    – तिमीले जे गर्दछौ त्यो भगवानलाई अर्पण गर्दै जाउ।
    – यसो गर्नाले तिमीले सधैंभरी जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
    – यहीँ नै सबैभन्दा ठूलो सहारा हो, जसले ईश्वरको सहारालाई  जान्दछ।

    भागवत गीताको शैक्षिक दृष्टिकोण :

    शिक्षा हामीले हरेक क्षेत्रबाट प्राप्त गर्न सक्छौं । हरेक क्षेत्रमा कतै न कतै शिक्षा जोडिएको हुन्छ, त्यो हामीले बुझ्नु अत्यन्तै जरुरी छ। त्यसैगरी भागवत गीताले जोड दिएका कर्मयोग, भक्तियोग तथा ज्ञानयोगका विभिन्न अवस्थाहरुलाई शिक्षासँग सम्बन्धित गराउनु यसको शैक्षिक दृष्टिकोण हो। बुझाइ र अनुभवमा शिक्षा भनेको खेती गर्ने प्रक्रिया हो। यसले कर्म र धार्मिक जीवनको लागि ज्ञान, सीप, क्षमता र बुद्धिलाई जनाउँछ। भागवत गीता सबै वैद्विक विचार र बुद्धिको संश्लेषण हो र यो निर्देशात्मक प्रक्रिया मार्फत विकसित भएको थियोे। (- राधाकृष्ण र मुर का अनुसार पेज नं. १६४) । भागवत गीतालाई पूर्वी सभ्यताको मनोविज्ञानको रुपमा हेरिन्छ, जबकी भागवत गीता एक निर्देशात्मक नमुनाको रुपमा जानिन्छ, जीवनको दर्शन र मनोविज्ञानको स्पष्ट रुप देखि शिक्षाको अर्थ छ। – मार्सेला

    गीताको दर्शन अनुसार : जब मानव तीन क्रोध (काम, क्रोध र भय ) बाट मुक्त हुन्छ, त्यो अवस्था ज्ञान र बुद्धिको प्राप्तिको अवस्था हो। (भागवत गीता २.५६) स्थिर ज्ञानमा पुगेर ज्ञानले स्थित राज्य बनाउँछ। तसर्थ, भागवत गीताले शिक्षाको लागि धेरै उपयोगी र व्यवहारिक सामग्रीहरु प्रदान गर्दछ। जसले कर्म, मोक्ष र बुद्धिसँग सम्बन्धित समस्याहरुलाई सम्बोधन गर्न सक्छ तसर्थ, मोक्षको शिक्षा, कर्मको शिक्षा बुद्धिको शिक्षा भागवत गीताका बढी सान्दर्भिक पक्षहरु देखिन्छन्।

    शिक्षा चेतनाको माध्यम हो। यसबाट व्यक्तिमा असल र खराब कार्यको वास्तविकता पहिचान हुन्छ। भागवत गीतामा बताइएका कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई शिक्षा, यसको माध्यम, पाठ्यक्रम ,सिकाइ प्रक्रिया र प्राप्त उपलब्धिमा एकाकार गर्न सक्नु भागवत गीताको शैक्षिक दृष्टिकोण हो। ज्ञान नै ईश्वर प्राप्तिको सर्वोत्कृष्ट माध्यम भएकोले एकाग्र चित्तले यसमा लिन हुनु साधनारत साधकको निरन्तर कर्तव्य हुने देखिन्छ। भागवत गीता र यसका शिक्षाहरुले मूल्य उन्मुख शिक्षालाई प्रभाव पार्न सक्छ भन्ने दृष्टिकोणले पनि अध्ययन गरेको पाइन्छ। योगीले ध्यान गर्दा क्रियायोगको विधि अनुसार गुरुले उपदेश गर्नु भए अनुसार मेरुदण्ड भित्र श्वासक्रिया गरी प्राणलाई मुलधार चक्रदेखि बिस्तारै कुटस्थ सम्म लगेर त्यहाँबाट बिस्तारै फर्काएर ल्याउँछन। यसबाट व्यक्तिलाई योगा मार्फत साक्षात् ईश्वर प्राप्ति गर्ने बाटोमा हिँडाउन सकिन्छ। व्यक्तिहरुलाई दिइने शिक्षामा यी कुराहरुलाई कुनै न कुनै किसिमबाट समाहित गर्नु भागवत गीताको शैक्षिक उपादेयता पनि हो। त्यसैले शिक्षा तथा शैक्षिक प्रक्रियामा कर्म, भक्ति र ज्ञानका मुख्य योगहरु जोडिएको हुनुपर्दछ। त्यस्तै व्यक्तिमा भएको प्रतिभाको पहिचान र पालनपोषण गर्ने मुख्य उन्मुख शिक्षा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ। यो अध्ययन व्यक्तिहरुबीच उत्कृष्टता ल्याउन मात्र नभई विद्यालय जाने बालबालिका, कलेज जाने र विश्वविद्यालय जानेहरुका बीचमा भागवत गीताको मूल्याकंन उन्मुख शिक्षाको विकासका लागि सम्भावित अन्तरक्रिया प्रकट गर्नका लागि विभिन्न दृष्टिकोणबाट आवश्यक र महत्त्वपूर्ण छ। त्यसैले भागवत गीता र यसको शिक्षा दिन प्रतिदिन बढ्दै गएको छ।

    भागवत गीताको शैक्षिक उपयोग:

    – आफ्नो कर्ममा विश्वास गर्ने, आफूलाई सहयोग गर्ने मित्रलाई कहिल्यै पनि विश्वासघात नगर्ने।
    – ज्ञान, भक्ती , कर्मको अनुशासनद्वारा व्यक्तिको व्यक्तित्वको चौतर्फी विकास हुन्छ, जसले गर्दा उनिहरु बढ्दै  जान्छन्।
    – भागवत गीताको शिक्षाले शिक्षक, अध्यापन, अभिभावक, संस्थागत नेता र व्यवस्थापनलाई मद्दत गर्दछ।
    – शिक्षकहरुका गुरु भगवान् श्रीकृष्णले भागवत गीतामा शिक्षकहरुद्वारा सिकाउने समर्पणसँग सम्बन्धित शिक्षकहरुद्वारा सिकाउने समर्पणको उपदेश दिनुभएको छ।
    – भागवत गीताका शिक्षाहरुले एक निर्देशनात्मक प्रविधिको रुपमा कार्य गर्दछ। जसले व्यक्तिहरुलाई ज्ञानको र नयाँ परिस्थितिमा सिकेका व्यवहारहरुको उचित विश्लेषण, संश्लेषण र आन्तरिक आधारहरुमा उचित मुल्यांकन गर्न सक्षम बनाउँछ।

    यसरी भागवत गीताले समाज र शिक्षाको उल्लेखनीय प्रगती र विकास गरेको देखिन्छ। यद्यपि, वर्तमान अध्ययनले शिक्षाको विकास गर्न विद्यार्थी र शिक्षक दुवैका लागि भागवत गीताको शिक्षा लाभदायी हुनेछ।

    सन्दर्भ सामग्री:

    • भागवत गीताको ज्ञान पुस्तक
    • जय हिन्दु राष्ट्र नेपाल खबर
    • स्वामी शिवानन्द: भागवत गीता एक दिव्य जीवन सोसाइटी पब्लिकेशन ऋषिकेश, UP २०००।
    • नेपाल दर्शन शिक्षा सम्बन्धी रिपोर्ट ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP