बले दाइ, बले भाइ, बले काका, बले छाेरा यस्तै यस्तै सम्बाेधन हुन्थ्याे बलबहादुरलाई । उनी बाबु सरकारी विद्यालयका रिटायर्ड शिक्षक र आमा रिटायर्ड बैंकरका एक्लाे छाेरा हुन् । जन्मदा नै उनकाे ताैल ४ केजी भन्दा माथि भएकाेले न्वारनमा उनकाे अर्कै नाम जुरेपनि बाबुले माया गरेर बलिष्ठ शरीर भएकाेले ‘बलबहादुर’ राखिदिएका थिए । सानैदेखि हक्की, निडर स्वभावका ‘बले’ झगडालू थिए । पढाइमा खासै अब्ब्ल नभएपनि विद्यालयमा उनलाई सबैले चिन्दथे । त्यतिबेला बाबुपनि सरकारी विद्यालयकाे शिक्षक भएकाे नाताले र उनकाे स्वभावले विद्यालयमा लाेकप्रिय थिए । बाबुले पढाएकाे विद्यालयबाट एसएलसी उतिर्ण गरेपछि बले प्लस टु पढ्न गएकाे ठाउँमा पनि उनी साथीभाइमाझ लाेकप्रिय भए । उनले जिम गरेर बनाएकाे सुगठित शरीरले धेरैलाई आकर्षित गर्दथ्याे । उनकाे झगडालु बानीले १५ दिनसम्म निलम्बनमा परे । छाेराे बिग्रियाे भन्ने बाबुआमालाई लागेपछि सम्झाइ बुझाइ गरे । त्यसकाे केही दिनसम्म उनी सुध्रन्थे । लागेकाे बानी के छुट्थ्याे र फेरि उस्तै ।
जेनतेल प्लस टु पास गरेपछि उनी स्नात्तक पढ्का काठमाडाैं जाने जिद्धी गर्न थाले तर बाबुआमालाई छाेराे झन बिग्रने डर भयाे । उनी काठमाडाैंमा पढ्न गए । पढ्न क्रममा उनी कलेजका विद्यार्थी नेताहरूकाे नजरमा पर्न थाले । उनीहरूले बलेलाई विद्यार्थी संगठनकाे सदस्यता दिए । बिस्तारै बिस्तारै बले नेताकाे रूपमा अग्रपंत्तिमा देखिन थाल्याे । विपक्षी विद्यार्थीहरूसँग झगडा गर्ने, ग्याङ फाइट गर्ने फ्रन्टलाइनर थिए । स्नात्तक तहकाे पढाइपछि बलेले धेरै ठाउँमा जागिरकाे लागि प्रयास नगरेकाे हाेइन तर सफल भएनन् । आमा बाबु दुवैजना रिटायर्ड भैसकेकाले पेन्सन आइरहेकाे थियाे । गाउँमा घर पेन्सनबाट राम्रै चलिरहेकाे थियाे तर बलेकाे स्थिति बलेकाे स्थिति काठमाडाैंमा ठीक थिएन । कमाइ पनि थिएन । बाबु आमाले पठाएकाे पैसाबाट कहिलेसम्म काठमाडाैंकाे महँगी टिक्ने भन्ने पीरले सताउन थाल्याे । कलेज बढ्दाका साथीहरू कहिलेकाहीँ भेटिँदा व्यापारकाे कुरा मात्र गर्थे । बलेलाई पनि साथीहरूसँग मिलेर व्यापार गर्न मन लाग्याे । चीनबाट सामान ल्याएर काठमाडाैंमा बेच्ने प्रस्ताव घरमा सुनायाे तर बाबुआमा मानेन् । अन्तत उसकाे जिद्दीकाे अगाडी बाबुआकाे केहीसिप लागेन र रिटायर्डबाट जम्मा भएकाे पैसा काठमाडाैं पठाए । उक्त पैसाले बले सानाेतिनाे चाइनिज व्यापारी भयाे । केही समय राम्रै देखिएकाे व्यापारमा संकट पर्न थाल्याे । चीनमा सामान लिन जाँदा फर्कँदा साथीसंगतीले बिस्तारै बिस्तारै रक्सीकाे कुलतमा फस्दै गयाे । रक्सीकाे लतले बलेकाे शरीर कमजाेर र व्यापार ध्वस्त हुँदै गयाे । रक्सीबिना निद्रा नपर्ने भयाे । छाेराकाे व्यापार डुबेकाे र बिग्रिएकाे कुरा बाबुआमाले आफन्तमार्फत चाल पाए । त्यसपछि बाबुले बेललाइ सम्झाइ बुझाइ काठमाडाैंबाट गाउँमै लिएर फर्के ।
गाउँ फर्केपनि बलेकाे रक्सीकाे कुलत छुटेन तथापी केही कम भने भयाे । बाबुले सामुदायिक विद्यालयमा पढाउन गरेकाे प्रस्ताव उसले मानेन् । उ बिहान ८ बजेसम्म सुत्ने अनि आमाले पकाएकाे खाना खायाे दिनभरी कृष्ण दाइकाे पसलमा क्यारमबाेर्ड खेलेर समय बिताउँने र साँझ परेपछि भट्टीमा टुच्च लगाउने बानी र खेलाडी भाइहरूलाई कलेज र राजनीतिक गफ दिने दैनिकी चलिरहेकाे थियाे । उसकाे दैनिकीले बाबुआमा आजित र तनावमा पर्न थाले ।
यस्तै क्रममा चुनावकाे घाेषणा भयाे । राजनीतिमा विशेष चासाे राख्ने बले विद्यार्थी जीवनदेखि नै केही राजनीतिक नेतासँगकाे उठबस थियाे नै । चुनाव घाेषणापछि उसकाे खाेजी र भेटघाट बढ्न थाल्याे । पार्टी प्रवेशदेखि चुनावी सहयाेग माग्नेकाे लर्काे लाग्न थाल्याे तर उसले कुनै पार्टी पनि राेजेन बरू साथी भाइ र आफन्तलाई नै सक्रिय रूपमा कतै नलाग्न सल्लाह दियाे । उसमा बदलावकाे भाव झल्कन्थ्याे । किनभने उसले पढाइ सकेर राेजगारीकाे लागि काठमाडाैंमा धेरै नेताकाे घर धाएकाे थियाे तर उसले काम नपाउँदा जीवनका अमूल्य समय खेर गएकाे सम्झ्याे । उसकाे जनसम्पर्कले लाेभिएका नेताहरूले अनेक प्रलाेभन देखाए । राेजगारी दिनेदेखि सुन्दर भविष्यकाे ग्यारेन्टी गर्ने आस्वासनसहित उसलाई चुनावमा प्रयाेग गर्न चाहन्थे नेताहरू तर उसले बेवास्ता गरिदियाे ।
आर्थिक अवस्थाले कमजाेर बलेलाई चुनाव अवसर हाे भन्ने पनि लाग्याे । कुरैकुरामा नेताजीले ३० हजार निकालेर बलेकाे गाेजीमा हालिदिँदै याे पैसाले तिम्राे जुनियर भाइहरूलाई मिलाउनु र भाेलीदेखि मसँग चुनाव प्रचार प्रसारमा आउनु बाँकी पछि हेराैँला भनेर नेता हिँडे । खल्तीमा हालिदिएकाे पैसा बाेकेर भट्टीतिर लागे । त्यसदिन उनीहरूले खुलेर जमे । बलेकाे कमाण्डमा केटाहरू चुनाव प्रचार प्रसारमा हिँड्न तयार भए ।
भाेलीपल्ट उनीहरू नेताकाे घरमा पुगे । सँगै विहानीकाे खाजा खाएपछि नेताजीले आफुले पहिलाेपल्ट सुविधामा किनेकाे पजेराे गाडी चुनावसम्मका लागि डाइभरसहित प्रचारप्रसारका लागि जिम्मा दियाे । बलेसहितकाे टिम साेही पजेराेमा नेताकाे चुनावप् प्रचारमा खटियाे । बिहान नेताज्यूकाेमा ब्रेकफास्ट, दिउँसाे लन्च साँझदेखि दिनभरीकाे रिपाेर्टिङ र भेराइटि मासुकाे परिकारसँगै रेड लेबलकाे चुस्कीसहित चुनावी रणनीति बनाउने दिनचर्या बन्न थाल्याे । उनीहरूकाे खटाइले चुनावी माहाैल बन्दै गयाे । चुनावी प्रचारकाे अन्तिम दिन नेताजीले बैठक राखि माहाैल राम्राे बनेकाले झै झगडा नगरि संयम हुन निर्देशन दिए । मतदानकाे दिन साेही अनुसार गर्ने निर्णय भयाे ।
चुनावकाे दिन शान्तिपूर्ण रूपमै मतदान भइरहेकाे थियाे । अन्तिम अन्तिमतिर अज्ञात समूहका केही मानिसहरूले बलेमाथि खुकुरी प्रहार भयाे । उ नराम्ररी घाइते हुन पुग्याे । आफ्नाे कार्यकर्तामाथि भएकाे हमलाकाे विज्ञप्ति निकालेर भत्र्सना गरे । १२ टाँका लगाउनुपरेकाे बलेकाे घाउ ठूलाे थियाे । उनकाे उपचार हुने क्रम चलिरह्याे । उता नेताजीले चुनाव जिते । उनीहरूले अस्पतालमै खुशी साटासाट गरे । नेताजी चुनाव जितेपछि काठमाडाैं गए । मन्त्रिमण्डलमा समावेश भए । घाउ निकाे भएपछि बले नेता भेट्न काठमाडाैँ हानियाे । भाइ टाेलीले बिदाइ गरे । बले मन्त्री क्वाटरमा मन्त्री भेट्न पुग्याे । गेटबाट उसलाई भित्र प्रवेश दिइएन । उ बाहिर नै कुरिरह्याे तर नेताजी कालाे सिसाकाे गाडीमा बलेकै छेउबाट नदेखे झैँ बाहिरिए । दास्राे दिनमा त्यस्तै भयाे । बलेले पिएसम्म गएर नाम टिपायाे तर नेताजीले भेट्न चाहेनन् । त्यसपछि चाहिँ बलेलाइ नेताजीले आफूलाई युज एण्ड थ्राे गरेकाे अनुभूति भयाे । उ निराश भयाे । गाउँकै दाइले बलेलाई नेताजीकाे पछाडी लागेर समय खेर नफाल्न सुझाव दिँदै गाउँ फर्कन भने । बले गाउँ फर्कियाे । बले गाउँ फर्किए देखेर भाइ टाेली खुशी देखिए तर बलेले नेताजीकाे व्यवहारकाे बेलिबिस्तार लगाएपछि उनी रूष्ट भए । तर पछुताउनु बाहेक विकल्पनै पाे के थियाे र ।
बले थाकेकाे, निराश र मलिन थियाे । उ घरतिर लाग्याे । घरमा नेताजीकाे व्यवहार सुनाएपछि भन्याे- बुबा म स्कुल पढाउँछु ।
बलेका बाबुआमा आँखा रसाए । छाेराकाे सुनाैला वर्षहरू खेर गए ।
बले नेपाली समाजकाे एक प्रतिनिधि पात्र मात्रै हाे । नेताजीहरूले युज एण्ड थ्राे गरेकाे धेरै युवा पात्रहरू छन् । अब युवाहरू बले नबनुन् र नबनाइयाेस् । (लेखक सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रमुखका रूपमा कार्यरत छन् ।)
प्रतिक्रिया