logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    भँगेरे महाराजको सनक र माफी महात्म्य

    भँगेरे महाराजको सनक र माफी महात्म्य

    राजनीतिमा माफीलाई एउटा पराजित गराउने शस्त्रको रुपमा प्रयोग गर्नेगरेको इतिहास ज्यूँदै छ । मह जोडीको माफीले इतिहास मात्र हैन, बर्तमान पनि ज्यूँदै छ, देखियो ।

    तत्कालीन ग्रीसमा समाज भड्काए बापत भनेर शक्तिशाली शासकहरुले सोक्रेटसलाई माफी माग्न लगाए तर उनले आफूले कुनै असत्य नबोलेकोले मृत्यु स्वीकार छ माफी भने माग्दिन भने र खुशी खुशी हेमलक पिए । इसाको छैटाैँ शताब्दीमा तत्कालीन यहुदी शासकहरुले जिससलाई युवा भड्काएको, असत्य बोलेको आरोप लगाएर माफी माग्न लगायो तर त्यहाँ पनि जिससले क्रुसिफाई हुन तयार भए माफी मागेनन् । “म सधै सत्यको पक्षमा” भनेर जीवन त्यागिदिए । पृथ्वी च्याप्टो छ भन्ने बाइबलको स्विकारोक्तिलाई कोपर्निकसले वैज्ञानिक रुपमै खण्डन गर्दै “पृथ्वी च्याप्टौ हैन गोलो छ” भन्दा इटलीकाको कुनै चोकमा मट्टितेल खन्याएर ज्युँदै आगो लगाइयो । वैज्ञानिक इतिहासमा कोपर्निकसको जस्तै स्टेटमेन्ट दिएबापत तत्कालीन इटालीको सरकारले ग्यालेलियोलाई जबरजस्ती माग्न लगाइएको माफी इतिहासमै चर्चित छ ।

    वि.सं. १९९७ सालमा चार शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा सरकारले माफी माग्दा जीवनदान पाउने भनेको थियो तर उनीहरुले आफूहरुले गरेको कार्य जनहितमा भएकोले कुनै हालतमा माफी नमाग्ने तर जीवन तिलाञ्जली दिन तयार भए । मैले सन्दर्भ र प्रसङ् बिर्सिएँ तर सिनेमाको जस्तो त्यो सिन मेरो दिमागमा बसिरहेको छ । कुनै इतिहासको पुस्तकमा मैले पढ्को थिएँ, तत्कालीन श्री ५ त्रिभुवन वीरविक्रम शाहदेव कुनै रात्रीकालीन भोजमा एउटा हातमा टोस्ट अर्को हातमा चुरोट लिई त्यसको मज्जा लिइरहेका थिए । कसैले उनलाई कुनै सन्दर्भमा माफी माग्न उचित हुन्छ भन्ने सल्लाहा दिँदा मदिराको गिलास हातमा फुटाउँदै,“म यस्तै टुक्राटुक्रा हुन सक्छु, माफी माग्दिन“ भन्दै प्रचण्ड स्वरुप देखाए । माफी शक्तिले पनि मन पराउँदैन र ज्ञानले पनि अङ्गीकार गर्दैन । दुबैले माफीलाई अस्वीकार गर्नुको मोटिभ भने बिल्कुल फरक छ, विपरित ।

    विद्यालयको प्रमुख प्रशासकीय व्यक्तिको रुपमा मैले पनि कतिलाई विद्यार्थीहरुलाई माफी माग्न लगाएको छु –द्वन्द्व व्यवस्थापनको लागि । धेरै प्रसङ्गहरु मध्ये एउटा घटना भने मेरो दिमागमा तरोताजा भएर बसिरहेको छ । कक्षा १० मा पढ्ने एक जना छात्र र छात्राको रुमानी सम्बन्ध विकास भैरहेको छ भन्ने सुनियो । आफ्नो इन्टिलिजेन्स स्रोतमार्फत अनुसन्धान गर्दा सो कुरा पुष्टि भयो अनि मेरो कार्यकक्षमा ल्याएर उनीहरुलाई “यस्तो सम्बन्धले पढाईमा ह्रास आउँछ, त्यसो भएकोले यस्तो सम्बन्धलाई अविलम्ब खारेज गरी एकअर्काका माफी मागी, दिदी भाइको सम्बन्ध बनाउ” भन्ने आदेशपूर्ण सुझावलाई उनीहरुले तत्काललाई माने । कान समाएर माफी माग्दै “अबदेखि त्यस्तो सम्बन्धन हुँदैन, हामी दिदी भाई भयौं” भन्दै निस्किए । आइरोनी कहाँ आइदियो भने त्यस घटनाको ठिक ६ वर्ष पछि दुवैजनाले अष्ट्रेलियाबाट फर्किएर नेपालमा विवाह गरे र मलाई विवाहमा सरिक हुन निम्तो पठाए । त्यस भोजमा बिताएको एक एक सेकेन्ड मलाई कल्प कल्प युग जस्तो लागेको थियो । हातमा भएको खानाका थाली मलाई ठूलो खडेरी हटाउन पुराणमा कुनै ऋषिले श्वान मांस ग्रहण गर्नुपर्ने विवशताको भोजन जस्तो भैरहेको थियो ।

    सारमा माफी स्वान्त निर्णय हो भन्नुपर्ने बुझ्नु पर्छ । जबरजस्ती आजको दुनियाँमा केही पनि हुँदैन झन् माफी जस्तो गहिरो बिषय कसरी हुन सक्छ । फेरि हिजोबाट नयाँ विषय आएको छ, मदिरापान गरेर सवारी हाँकेमा चोकचोकमा उनीहरुलाई उभ्याइने छ अरे । भँगेरे महाराजलाई नयाँ नयाँ यस्ता सनक के खाएर आउँछ होला ? सजायँको स्वभाव र प्रकृति निर्णय गर्ने को हो यो ?? कानुन निर्मांणको स्वभाविक प्रक्रियाबाट आउनुपर्छ यस्ता प्रावधान । सजायँले प्रदर्शनलाई प्रश्रय दिने हो भने दुइवटा पासपोर्ट, चारवटा श्रीमती अनि सहकारीका निक्षेपको भौचरसहित “नाइ मलाई थाछैन” भन्ने गीत बजाएर चाबहिल चोकमा उभ्याइदिम् न महाराजलाई, हुन्छ ?

    शक्तिले कहिले पनि ज्ञानलाई मन पराएन । जब शक्ति र ज्ञानको मेल भयो संसार परिवर्तन भएको छ । कहिलेकाहीँ त शक्ति र ज्ञान मिलेपछि ईश्वरको प्रतिछायाँको रुपमा पनि हेरिएको छ । शक्तिले ज्ञानलाई कि त घुँडा टेकायो कि त माफी मगायो, कि त देशनिकाला गर्यो तर यी  सबै सन्दर्भमा जित भने ज्ञानको नै, घुँडा टेक्नेको नै, माफी माग्ने को नै भएको छ ।

    सनकमा राज्य सक्ता चलाउने नवभँगेरे महाराजहरु जेको बिरोध गरेर त्यहाँ पुगेका छन्, त्यही बनिरहेका छन् । राजतन्त्रका राजा  बोल्दैन थिए । राजा बोल्दैन देउता देख्दैन भन्ने उखान नै छ । गणतन्त्रका श्री ७ महारजा भने बोल्छन् पनि दिम्सो तेल दिँदा खाँदैन् राति गएर कोल चाटछन् । बाहुबालीको शिबगामी देवी जस्तै,“ए मेरा बचन हे, मेरा बचन हि मेरा शासन हे” भन्न बाँकी छ । मलाई विश्वास छ त्यतिखेर पनि  भौमानको महान बाणीलाई लिएर कुण्ठाले भरिएको विवेकको दुनियाँबाट पर पुगिसकेका स्वघोषित आधुनिक दासहरुले सेलेब्रेट गर्नेछन् । विज्ञानका नियमअनुसार पनि जुन जति चाँडो तात्छ उती नै चाँडो सेलाउँछ ।  अरु कुरा तपसिलका कुरा हुन अभिव्यक्ति स्वतन्त्रता, वाक स्वतन्त्रताकै लागि एक शताब्दीको सङ्घर्ष नेपालमा बितिसकेको छ । स्मरण रहोस् ।



    प्रेम भण्डारी प्रेम भण्डारी




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP