‘जमिन र समयको सदुपयोग भएको छ, आम्दानी पनि भएको छ’, उनले भनिन्, ‘जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी गरिरहेकी छु ।’
कर्जाही आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमाक्षेत्र सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको थियो । उक्त जलाशय निर्माणपश्चात् खेती गर्न सहज भएको स्थानीय जुगानी चौधरीको भनाइ छ ।
‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारीखेती सुरु गरेँ’, उनले भने, ‘तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजार आम्दानी गरिरहेकी छु।’
जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले भने, ‘जलाशय ठूलो छ, पानी पनि प्रशस्त छ । सिँचाइ गरेर स्थानीयले आम्दानी गरेका छन् ।’ दुई बाली खेती हुने जमिनमा अहिले तीन बाली खेती हुन थालेको छ। पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए ।
नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण प्रभावकारी बनेको घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरी बताउँछन् । उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको बताए ।
‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्न कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उनले भने, ‘जलाशयले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षा छ।’रासस



प्रतिक्रिया