काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि थाइल्याण्डले जित्दा नेपाल भने जित विहीन भएकाे छ ।
अन्तिम खेलमा शुक्रवार नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिजको जितेको छ । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो । नेपालले सिरिजमा सबै ६ खेल हार्यो ।
८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाईले नट आउट रहँदै सर्वाधिक २७ रन जोडिन् । नान्नापत खोन्चरोएन्कले ३२ बलमा २३ रन बनाइन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् ।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् । सिरिजमा नेपाल, थाइल्याण्डसहित नेदरल्याण्ड्सको सहभागिता थियो । नेदरल्याण्ड्स ८ अंकका साथ दोस्रो भयो ।
प्रतिक्रिया