काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनी बाहिरै बसेर यसको प्रतिवाद गर्न पाउने गरी जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार आदेश गरेको हो।
उक्त आदेश गर्दा अदालतले विभिन्न तथ्यहरू उल्लेख गरी तत्काल प्राप्त प्रमाणले रविलाई निर्दोष मान्न नसकिने भनेको छ।
रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । यो परिवर्तनको प्रसवपिडा भएको उनको भनाइ छ ।
उनले अदालतमा बयान गर्दा आफू निर्दोष रहेको भनी कसुर इन्कार गरे पनि अहिले नै कसुरमा संलग्नता नरहेको भनी भन्न सकिने अवस्था नरहेको अदालतको आदेशमा उल्लेख छ।
यसअघि कास्की, काठमाडौँ र रूपन्देही अदालतले पनि उनीसँग ६५ लाखदेखि १ करोड रूपैयाँसम्म धरौटी मागेका थिए। अहिलेसम्म उनले अदालतमा बुझाएको कुल धरौटी रकम २ करोड ७९ लाख पुगेको छ।
अब उनीविरूद्ध पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगीसम्बन्धी मुद्दा चलाउने तयारी छ।
उनी जीबी राई नेतृत्वका ५ वटा सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा मुछिएका छन्।
प्रतिक्रिया