बा माथी बसाईं सर्नु भो
बादल भन्दा माथि, आकाश भन्दा माथी
जून भन्दा माथी तारा भन्दा माथी…
बा बसाईं सर्नु भो
त्यसै भन्दिन्छन् मान्छे कि
मेरा बा मर्नु भो
बा यता छँदा
बिहान भाले नबास्दै
भारीका भारी पराल
कि त धानका बोरा
त..ल बेसी देखि घर ल्याईसक्नु हुन्थ्यो
दिनभर मेलापात हलोजुवा खेतबारी…
सधैं काम मात्र गर्नु भो
यता कामैकामले थाकेर
बा माथी बसाईं सर्नु भो
त्यसै भन्दिन्छन् मान्छे आउनुहुन्न अब
मेरा बा मर्नु भो
यता छँदा पनि
बा ले आराम कहिल्यै गर्नु भएन
ती अन्तिम दिनहरु
अस्पतालको ओछ्यानमा भन्दा बाहेक
बा ले आराम कहिल्यै गर्नु भएन
माथी पुगेर पनि आराम गर्नु हुन्न बा
उता पनि बा का दु:ख उस्तै छन्
दिन उस्तै…रात उस्तै छन्
कुप्रे जिउ उस्तै..थोते दाँत उस्तै छन्
फुटेका ओठबाट खस्ने
बा का बात उस्तै छन्
अँ !
कपाल अलि फुलेछ..
बिहानको घाममा देखिने बादल जस्तै
गैरी खेतमा भदौ असोज तिर फुल्ने काँस जस्तै
चाउरी गालामा दारी अलि फुलेछ
र पनि बा आराम कहिले गर्नुहुन्न
बादल माथी पनि बा काम मात्र गर्नुहुन्छ
खाली हात बस्नुहुन्न
साँझ पर्दा नपर्दै
हतार हतार घामलाई गुटुमुटु पारेर
बाकसमा लुकाउनुहुन्छ
ताराहरुलाई बाहिर ल्याउनुहुन्छ
र आकाशको आँगन भरी
फिंजाएर सुकाउनुहुन्छ
उता बा
सलाई कोरेर जूनलाई सल्काउनुहुन्छ
यता आमा
सलाई कोरेर धुपबत्ती सल्काउनुहुन्छ
बा रातभर तारा जूनसित बात मार्नुहुन्छ
यता आमा
रातभर खोकेर बा सित बात मार्नुहुन्छ
उता बा
बिहान भाले नबास्दै
साराका सारा जून र तारा
बटुलेर भकारी भरी भर्नुहुन्छ
र सलाई कोरेर फेरि
घामलाई सल्काउनुहुन्छ
यता आमा
सलाई कोरेर धुपबती सल्काउनुहुन्छ
कहिलेकाही बा सपनीमा आउनुहुन्छ
गाईलाई कूँडो
भाईलाई कापी कलम
आमालाई रातो फरिया
मलाई निधारमा रातै अक्षता
र कपालमा हात राखेर
आशिक दिन आउनुहुन्छ
कहिलेकाहीँ बा
सपनीमा यता आउनुहुन्छ
बा ले आशिक दिएको दिन
म यो दुनियाँको सब भन्दा अग्लो मान्छे हुन्छु
जस्तो कि
सानो छँदा बा को काँध माथी चढेको बेला
म दुनियाँको सबभन्दा अग्लो मान्छे हुनेगर्थें
बा ?
मलाई फेरि एक पटक
अग्लो मान्छे हुन मन छ ।
प्रतिक्रिया