logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    सबै उपभोग्य वस्तु भाउ महँगिएकाे महँगिएकै

    सबै उपभोग्य वस्तु भाउ महँगिएकाे महँगिएकै

    काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन ।

    सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ९५ रुपियाँ पुगेको छ । खानेतेल, गेडागुडी, दाललगायतका भाउ यसै गरी बढेको छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।

    नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षका बिचमा सबै जसो उपभोग्य वस्तुको भाउ औसतमा १५ प्रतिशत महँगिएको छ । सङ्घका उपाध्यक्ष नरेश शाही (खड्गी) ले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ४० प्रतिशतसम्म महँगिए पनि औसतमा १५ प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिए ।

    सङ्घका अनुसार गत माघमा भुटेको तोरीको तेल प्रतिलिटर ३६० रुपियाँ रहेकोमा यो वर्षको माघमा बढेर प्रतिलिटर चार सय रुपियाँमा कारोबार भएको छ । यस्तै काँचो तोरीको तेल प्रतिलिटर ३१०/३२५ रुपियाँ रहेको छ । भटमास र सनफ्लावर तेल प्रतिलिटर दुई सय रुपियाँ रहेकोमा यस पटक बढेर २४५ रुपियाँमा कारोबार भएको छ । त्यसै गरी गहुँ प्रतिकेजी ६० रुपियाँबाट बढेर ७५ रुपियाँ, चिउरा प्रतिकेजी एक सयदेखि १४५ रुपियाँमा पाइएकोमा यस पटक बढेर प्रतिकेजी १२० रुपियाँदेखि १६० मा किनबेच भइरहेको छ । यस अवधिमा दाल, गेडागुडी, आँटा, मैदालगायतको भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको सङ्घका उपाध्यक्ष शाहीको भनाइ छ ।

    नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको छ महिनाको उपभोग्य वस्तुको मूल्यवृद्धि लगातार बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । मूल्यवृद्धि पुसमा बढेर वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घिउ तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP