काठमाडाैं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार राति नै गरिएको छ ।
उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो । मध्यरात्रीमै अन्तेष्टि गरिए पनि उनको अन्तेष्टिमा सर्वसाधारणहरुको ठूलो उपस्थिति रहेको थियो ।
भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै प्रकृतिको पार्थिव शरीर भैरहवा आइपुगेको थियो । उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो ।
करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिई १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्तसँग उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो ।
शवलाई राति नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याएर उनको अन्तेष्टि गरिएको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले मुखाग्नी दिएका थिए ।
२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यहीँ आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव भारतको केआईआईटीको छात्रावासमा झुण्डिएको अवश्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रकृतिको निधनपछि भैरहवा शोकमग्न छ। बुधवार साँझ उनको शव नेपाल आइपुगेसँगै परिवार, आफन्त र स्थानीयवासी शोकमा डुबेका छन्। घरमा सयौँ व्यक्ति पुगेर परिवारलाई समवेदना प्रकट गरेका छन्।
प्रतिक्रिया