logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    नेपाली विद्यार्थीमाथि अन्याय किन? सरकार कुन दुलोमा छ?

    नेपाली विद्यार्थीमाथि अन्याय किन? सरकार कुन दुलोमा छ?

    ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको घटना केवल एउटा दुःखद खबर मात्र होइन, यो भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षा संकटको ऐना हो। घटनाको वास्तविक कारण आत्महत्या थियो वा हत्या? अनुसन्धान खुला छ, तर विश्वविद्यालय प्रशासन र भारतीय निकायहरूको व्यवहारले शंका उब्जाएको छ। प्रकृतिले लामो समयदेखि साइबर बुलिङ, मानसिक तनाव, र सम्भावित दुव्र्यवहार सहनुपरेको उनका साथीहरूले बताएका छन्। यस्तो अवस्थामा, प्रशासनले घटना ढाकछोप गर्न खोज्नु अपराधलाई थप उचाल्ने दुस्साहस हो।

    प्रकृतिको मृत्युपछि विश्वविद्यालय प्रशासनले दोषी पत्ता लगाएर कारबाही गर्ने सट्टा उल्टै नेपाली विद्यार्थीहरूलाई जबर्जस्ती होस्टेलबाट निकालेर रेलवे स्टेशनमा छोडिदियो। के यो कुनै विश्वविद्यालय प्रशासनको आचरण हुनसक्छ? भारतीय नागरिकलाई नेपालमा यति अमानवीय व्यवहार गरिएको भए के भारत सरकार चुप बस्थ्यो? नेपाली सरकारका लागि यो केवल कूटनीतिक मामिला होइन, यो राष्ट्रको स्वाभिमानसँग जोडिएको विषय हो। नेपालका ५०० भन्दा बढी विद्यार्थीलाई रातारात सडकमा फालिदिनु उनीहरूको भविष्यमाथिको खेलवाड मात्र होइन, यो मानवअधिकार उल्लंघन हो। परराष्ट्र मन्त्रालय मौन छ, दूतावास निदाइरहेको छ, सरकार “बुझ्दै छौं” भनेर पन्छिरहेको छ। यो रवैया लज्जास्पद छ।

    अब चुप लाग्ने बेला होइन। नेपाल सरकारले तत्काल भारतीय समकक्षीसँग वार्ता गर्नुपर्छ। नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई पुनः विश्वविद्यालयमा फर्काउने प्रबन्ध गरिनुपर्छ। प्रकृतिको मृत्युको निष्पक्ष छानबिन गर्दै दोषी अद्विक श्रीवास्तवलाई निर्भया प्रकरणको दोषीझैं कडा सजाय दिनुपर्छ। साथै, भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि ठोस नीति निर्माण गर्नुपर्छ।

    अब समय आयो— नेपाली सरकारले ‘छानबिन गर्छौं’ भन्ने खोक्रो बयान दिने होइन, कडा कूटनीतिक पहल गर्ने। नेपाली विद्यार्थीहरूको अपमान हामी सहन सक्दैनौं। यदि सरकार अझै निदाइरहन्छ भने, जनताले नै सरकारलाई झक्झक्याउने छन्। अब्बल नागरिकका लागि यो मौन बस्ने समय होइन, राष्ट्रको आवाज बुलन्द गर्ने बेला हो!

    #JusticeForPrakriti
    #NepaliStudentsDeserveJustice



    सन्ताेष सिम्खडा सन्ताेष सिम्खडा




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP